
उर्लाबारी, असार १५ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बसपार्क क्षेत्रबाट खैरो हिरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार दिउँसो १२:४५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध विशेष ब्युरो शाखा कार्यालय काकडभिट्टा झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।




प्रहरी निरीक्षक रन्जन बराल र प्रहरी नायब उपरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको टोलीले भारत, बिहार राज्यको किशनगञ्ज बस्ने ४७ वर्षीया जन्हेरा खातुन र १४ वर्षीय मुनासिर अलीलाई चेकजाँचका क्रममा शंका लागी जाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित १०२ ग्राम (प्लास्टिक बाहेक १०० ग्राम) बरामद गरेको हो।
बरामद गरिएको लागुऔषधसहित दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।