दिलीप पोखरेल / उर्लाबारी
पछिल्लो समय युवाहरूले नौलो विवेक प्रयोग गरेर व्यवसाय गर्ने तरिका अपनाउन थालेका छन्। अहिले बजारमा मट्का चियाको कल्चर बढ्दै गएको अवस्थामा उर्लाबारीका युवाहरूले बिल्कुलै नयाँ र रोचक चिया बेच्न थालेका छन्।

चपाउने चिया! सुन्दा अचम्म लाग्न सक्छ, चिया पनि चपाउन मिल्ला र? वास्तवमा चिया सुरुप-सुरुप पिउने नै हो, तर चियाको कप भने चपाउन मिल्छ। हो यस्तै नौलो आइडिया र स्वादिष्ट चिया बेच्दै छन् उर्लाबारीका युवाहरूले।

उर्लाबारीका केशव नेपाल (केनिश), मेघराज ढकाल र भुवन मुंग्रातीले नयाँ आइडियाका साथ उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविको छेउमा सञ्चालनमा ल्याएको ‘चिया हव उर्लाबारी’ को लोकप्रियता बढ्दो छ। हाल स्नातक तहमा अध्ययरत र व्यवसायको केहि अनुभव नभएका युवाहरुले संचालनमा ल्याएको उक्त चियाको नौलो परिकार पूर्व क्षेत्रमै नौलो हुनसक्छ ।

 

सो चिया हवमा चकलेट फ्लेभरमा बनेको बिस्कुटको कपमा चिया दिइन्छ। चिया पिएपछि सो कप चपाएर खान मिल्ने सञ्चालक केनिश नेपालले बताए। यस्तै सो चियामा नरिवल, दालचिनी लगायत चिया मसालाको सम्मिश्रणले चियाको स्वाद नै फरक र मिठास पाइएको ग्राहकहरू बताउँछन्।

युवाहरूको चिया व्यवसाय गर्ने उक्त नौलो प्रयासको अहिले लोकप्रियता बढ्दो छ।

गत साउन ७ गते बुधबारदेखि सञ्चालनमा आएको सो चिया हवले ग्राहकहरूको मन जित्न सफल बन्दै गएको पाइन्छ।

यसका अलावा सो चिया हवमा विशेषगरी युवाहरूले चियापानपछि सानो स्टिकी नोटबुकमा केही शुभकामना सन्देश लेखेर भित्तामा टाँस्ने कल्चरसमेत सञ्चालकहरूले अपनाएका छन्।

सो चिया हवमा चपाउने चियाका अलावा खाजाका विभिन्न परिकार र चिसो पेय पदार्थ (हल्का) समेत उपलब्ध रहेको छ।

युवाहरूको यो नौलो स्वादको अनुभव लिन जाने हैन त?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय