विराटनगर । प्रदेश १ प्रहरी कार्यालयबाट उत्कृष्ट घोषित् भएका एक जनासहित दुई ट्राफिक विभागीय कारबाहीमा परेका छन् ।
विराटनगर महानगरपालिका ३ पुष्पलालचोकमा कार्यरत असई तुलामणि आचार्य र हवल्दार झुरण चौधरी एक कार्टुन तेलको प्रलोभनमा परेपछि कारबाहीमा परेका हुन् । तीमध्ये असई आचार्य २०७६ साल असार महिनामा उत्कृष्ट प्रहरी घोषित् भएका थिए ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट नेमुवामा रहँदा प्रभावकारी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै तत्कालीन प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका थिए ।
केही दिनअगाडि उनीहरूले एउटा सवारीसाधनलाई रोकेर चालकलाई गाडीको कागजपत्र मागेका थिए। अरू कागजात भए पनि बिलबुक नभएपछि उनीहरूले जरिवाना तिर्नुपर्ने बताएका थिए । तर सवारी चालकले गाडीमा रहेको एक कार्टुन तेल दिने प्रलोभनमा पारेपछि उनीहरूले सहमति जनाए।
सहमतिअनुसार गाडीबाट तेल झिक्दै गर्दा चालकले उनीहरूको भिडियो खिचेर प्रदेश १ प्रहरी कार्यालय प्रमुखसमक्ष पठाइदिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।
प्रदेश १ प्रहरी प्रमुख सुदीप गिरीलाई चालकले भिडियो पठाइदिएपछि डिआइजीले उनीहरूलाई कारबाही गरेका हुन्।
दुबै जनालाई निलम्बनको तयारी भइरहेको बुझिएको छ । यता, मोरङ ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्कीले भने अनुशासनविपरीत कार्य गरेका कारण उनीहरू कारबाहीमा परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय