
धरान । सुनसरीको तरहरा देखी धरान जोड्ने चारकोशे सडकखण्ड निर्माण कार्य सुस्त हुदा सर्वसाधारणदेखि यातायात व्यवसायी मर्कामा परेका छन्।
विगत दुई वर्षदेखि चारकोशे जंगलभित्र पर्ने करिब ११ किलोमिटर कालोपत्रे सडक निर्माणमा ढिलाइ हुन थालेसँगै यतिबेला सर्वसाधारणमा असन्तुष्टि बढ्दै गएको छ।
रौता कन्स्ट्रक्सन र हेमदोङ ठोक्कर एण्ड प्यासिफिक जेभीले निर्माण २०७७ असारमा जिम्मा लिएको थिया े। दुवै कम्पनीले विविध कारण देखाउँदै तीन वर्षमा निर्माण कार्य पूरा गर्ने सम्झौता गरे पनि हाल निर्धारित समयमा कार्य पूरा हुने सम्भावना कम रहेको सर्वसाधारण बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश-१ का संयोजक सरोज श्रेष्ठका अनुसार सडक निर्माणको कार्यमा ढिलासुस्ती हुँदा जनताले सास्ती भोग्नु परिरहेको छ ।
संयोजक श्रेष्ठले भने, ‘गएको ८ महिनादेखि ठेक्का लिएका कम्पनी काम बन्द गरेर बसेका छन्। यसबारे सोधखोज सम्बन्धित निकायले गर्न सकेको देखिँदैन। जसका कारण यात्रु, यातायात क्षेत्र, दुई चक्के सवारलाई बढी असर पुगिरहेको छ। निर्माण कार्यलाई चाँडै गर्नसके सबैलाई राहत हुन्थ्यो।’
सडक निर्माणले गति लिन नसकिरहँदा गएको भदौदेखि हालसम्म धेरै सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानले जनाएको छ।
कार्यालयका प्रहरी निरीक्षक श्याम बस्नेत करिब ११ किलोमिटर सडक निर्माण कार्यले गति लिन नसक्दा समस्या भइरहेको बताउँछन्। सडक निर्माणका कारण कतिपय स्थानमा निर्माण सामाग्री थुपारिँदा एकतर्फी यातायात सञ्चालन हुँदा समस्या भएको उनको भनाइ छ।
भदौदेखि हालसम्म सो सडकखण्डमा ६१ वटा सवारी दुर्घटना भएका छन्, जसमा ६ जनाको मृत्यु भएको छ भने ६३ जना गम्भीर घाइते भएका छन् । बिहान र रातीको समय सवारी चाप कम हुने गरेको भए पनि बेलुका ४ बजेदेखि ६ बजेको समयमा बढी दुर्घटना हुने गरेको कार्यालयको तथ्यांक छ ।
बुधबार बेलुका सवा पाँच बजे इटहरी-११ का ३१ वर्षीय सुरज दाहालको मोटरसाइकल र बोलेरो जीप ठोक्किँदा मृत्यु भएको थियो। सवारी दुर्घटनामा सडक निर्माण नहुँदा सवारी दुर्घटनाले स्थान पाउँदै गएको स्थानीयको बुझाइ छ ।
अर्कोतर्फ, निर्माण कम्पनी रौता कन्स्ट्रक्सनले अलकत्रा, डिजेलको मुल्यवृद्धि हुँदा समस्या भएको जनाएको छ । कन्स्ट्रक्स्नले बढेको मूल्य कम हुने आशामा कामको गतिलाई कम गरेको बताएको छ ।
सम्झौता हुँदा अलकत्रा ७० रुपैयाँ प्रतिकिलो भए पनि हाल त्यसको मूल्य आकासिएर १ सय १० पुगेको कन्स्ट्रक्सले जनाएको छ। दशैंअघिबाट काम सुरु गरेर मंसिरसम्ममा कालोपत्रे निर्माण हुने जनाएको कम्पनीले डिजेलको मूल्यमा पनि भारी वृद्धि हुँदा समस्या भएको बताएको छ।



