
फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरेसँगै अब प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ध्यान गर्न पाइने भएको छ ।
पाथीभरा क्षेत्रअन्तर्गत माथिल्लो फेदीमा ध्यान केन्द्र निर्माण गरिएको हो । पाथीभरा क्षेत्रमा रहेको घना जङ्गलभित्र ध्यान केन्द्र निर्माण गरिको छ । आवतजावत नहुने र आवाजसमेत नआउने सुनसान क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
गत आर्थिक वर्षमा ध्यान केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । पाथीभरा क्षेत्र विकास समितिको ३० लाख र जनश्रमदान चार लाख ३९ हजार छ सय ३० रुपैयाँ गरी जम्मा ३४ लाख ३९ हजार छ सय ३० रुपैयाँ लागतमा ध्यान केन्द्र सम्पन्न भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
पाथीभरा क्षेत्रमा ध्यान गर्न चाहने जोकोहीले ध्यान गर्नसक्ने क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटर उचाइमा पाथीभरा धाम अवस्थित छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि १९ किलोमिटर गाडीमार्फत सानो फेदी पुग्न सकिन्छ । सुकेटर विमानस्थलबाट गाडीमा ११ किलोमिटर गएपछि तल्लो फेदी पुग्न सकिन्छ । तल्लो फेदीदेखि पाँच किलोमिटर पदमार्ग हँुदै पाथीभरा धामसम्म पुग्न सकिन्छ । तल्लो फेदीदेखि माथिल्लो फेदीसम्म पुग्न करिब दुई किलोमिटर पर्दछ । माथिल्लो फेदीदेखि करिब ८० मिटर पूर्वजङ्गल हँुदै पाथीभरा ध्यान केन्द्र पुग्न सकिन्छ ।
ध्यान गर्न चाहनेलाई बाहिरको आवाज नआउने गरी ढुङ्गाको गारो र भित्र काठको सिलिङ लगाएको छ ।



