
निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन उर्लाबारी नगर समितीको आयोजनामा नगरस्तरीय प्याब्सन स्पोट्स मिट २०८१ कार्यक्रम संचालन हुने भएको छ ।
मंगलबार उर्लाबारीस्थित प्याब्सन नगर समितीको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा यही माघ २, ३ र ४ गते उर्लाबारीमा नगरस्तरीय प्याब्सन स्पोट्स मिट आयोजना हुने जानकारी गराईएको छ ।




प्याब्सन नगर समितीका अध्यक्ष सूर्य पौडेलकाअनुसार बुधबारदेखि सुरु हुने सो कार्यक्रमअन्तर्गत भलिबल, फुटबल, फुटसल र एकल टेबल टेनिस खेल संचालन हुनेछन् । जसमा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता हुनेगरी छात्र र छात्रा दुवैतर्फ क्रमश: भलिबलमा १० र ८ वटा टिमको सहभागिता रहने प्याब्सन नगर अध्यक्ष पौडेलले बताए ।
यस्तै उनले यू -१५ छात्रतर्फ फुटबलमा १७ टिम, फुटसलमा छात्रतर्फ ११ टिम र टेवल टेनिसमा छात्र र छात्रा गरि जम्मा २२ जनाको सहभागिता रहने बताए । जसअन्तर्गत फुटसलमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको प्रतिश्पर्धा रहने बताईएको छ ।
उल्लेखित खेलहरुमध्ये अरनिको माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल, ओभल ल्यावोटरी दुर्गापुरीमा भलिबल र उर्लाबारी फुटसलमा फुटसल खेल संचालन हुने बताईएको छ।
त्यस्तैगरी मंगलबार अरनिको माविमा एक कार्यक्रमबिच उर्लाबारी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको उद्घाटन हुने बताईएको छ ।
सो अवसरमा बोल्दै खेलकुद कार्यक्रम संचालन उपसमिती संयोजक आनन्द कार्कीले उल्लेखित खेलहरुमा करिव १ हजार विद्यार्थीहरुले सहभागिता जनाई प्रतिश्पर्धा गर्नेछन् । यस्तै उनले हरेक खेलमा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने खेलाडी तथा टिमलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने बताए ।
सो कार्यक्रममा ५ लाख ७० हजार ६० रुपैया अनुमानित खर्च हुने बताईएको छ । यस्तै प्रवेश शुल्क र आन्तरिक संस्थागत कोषबाट क्रमश: १ लाख १३ हजार र ४ लाख ५७ हजार ६० रुपैया अनुमानित आम्दानी हुने आयोजकले जनाएको छ ।
प्याब्सन उर्लाबारीका प्रमुख सल्लाहकार दिनेश पोख्रेलकाअनुसार उल्लेखित खेलकुदका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले प्याब्सनको जिल्लास्तरीय खेलकुदमा सहभागिता जनाउनेछन् ।
वि.सं. २०४७ सालमा स्थापित उर्लाबारी प्याब्सनमा हाल २२ वटा निजी तथा आवसीय विद्यालय आवद्ध रहेका छन्।