
उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १ विजयी भएको छ। वर्षातका बाबजुद मंगलबार सम्पन्न खेलमा वडा नम्बर १ ले वडा नम्बर २ लाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
मंगलबारे युवा क्लबको आयोजनामा भएको खेलमा वडा नम्बर १ का सुरेन राना मगरले खेलको ३३औं र ४७ औं मिनेटमा १–१ गोल गर्दै टोलीलाई अग्रता दिलाए। यस्तै सो खेलमा वडा नम्बर २ का जर्सी नम्बर १५ का लक्ष्मण लिम्बुले खेलको ६१औं मिनेटमा एक गोल फर्काएका थिए ।




सो खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले १ नम्बर वडाका सुरेन राना मगरलाई ‘म्यान अफ दि म्याच’ घोषित गरेको छ । आयोजककाअनुसार उनलाई बुधबार नगदसहित मायाको चिनो प्रदान गरिनेछ।
यसैबिच उक्त खेल खेल्ने क्रममा वडा नम्बर १ का गजेन्द्र बोहोरा गम्भीर घाइते भएका छन्। कुमको हड्डी (ब्युटी बोन) भाँचिएपछि उनलाई खेल मैदानबाटै एम्बुलेन्समार्फत उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका वडा नम्बर १ का वडाध्यक्ष तिलक पाण्डेकाअनुसार बुधबार बोहोराको शल्यक्रिया हुने तय भएको छ। यस्तै पाण्डेले हाल उनको अवस्था सामान्य रहेको बताए ।
उर्लाबारीका ९ वटै वडाले सहभागिता जनाएको सो प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो ३ बजे वडा नम्बर १ र वडा नम्बर ५ बीच हुनेछ। विजेता टोलीलाई नगद ७५ हजार, उपविजेतालाई ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।