
उर्लाबारी–३ की ३७ वर्षीया प्रभा लिम्बूको उपचारका लागि आर्थिक सहयोग जुटाउन थालिएको छ। वैदेशिक रोजगारीमा रहेका उर्लाबारी–३ मंगलबारेका युवा सन्तोष सिङ्थम्बा लिम्बुले सोमबार २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
उर्लाबारीका सञ्चारकर्मीमार्फत सोमबार बिहान प्राप्त उक्त सहयोग रकम वडाध्यक्ष भिष्मराज बुढाथोकीले प्रभा लिम्बूको घरमै पुगेर उनका श्रीमान् सन्तमान लिम्बूलाई हस्तान्तरण गरेका हुन्।




झण्डै दुई महिनादेखि जण्डिस रोगले पीडित प्रभा लिम्बूको अवस्था गम्भीर बन्दै गएको छ। कलेजोमा असर पुगी पानी जम्ने समस्या देखिएपछि उनको पेट फुलेको र उपचार अभावले अवस्था जटिल बन्दै गएको श्रीमान् लिम्बूले बताए।
यसअघि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेकोमा चिकित्सकले थप विशेषज्ञ सेवा आवश्यक रहेको भन्दै अन्यत्र लैजान सुझाव दिएका थिए।
आज बिहान प्राप्त सहयोग रकम बुझिलिई उनलाई उर्लाबारी नगरपालिकाको एम्बुलेन्समार्फत धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको छ।
अत्यन्तै कमजोर आर्थिक अवस्था रहेको लिम्बू परिवारले थप उपचार खर्च जुटाउन सकस भोगिरहेको भन्दै सहयोगी हातहरूलाई साथ र सहयोगको अपिल गरेका छन्।
सहयोगको लागि सम्पर्क: ९७६४४८३९७८