काठमाडौं, २ असार । जिल्ला अस्पताल रामेछापबाट सरुवा भई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, हेटौंडा पुगेका डा. केशव श्रेष्ठ ’अलविदा’ लेख्दै फेसबुकमा स्टाटस पोस्ट गरेर सम्पर्कविहीन भएका छन्।

फेसबुकमार्फत उनले आफूलाई झुटा आरोपमा फसाइएको र राजनीतिक तथा आर्थिक चलखेलका कारण सरुवा गरिएको गुनासो गरेका छन्। २५ महिनाको सेवामध्ये १८ महिना रामेछाप अस्पतालमा प्रमुखको रूपमा कार्यरत श्रेष्ठले अस्पताल सुधार अभियानकै बीचमा षड्यन्त्र, आरोप र दवाबको सामना गर्नुपरेको दाबी गरेका छन्।

उनका अनुसार कर्मचारी प्रशासनमा सुधार ल्याउने क्रममा केही करार कर्मचारीलाई स्पष्टीकरण माग्दा उनी स्थानीय नेताहरू र कर्मचारी समूहको निशानामा परे। डा. श्रेष्ठले अस्पताललाई निजी सम्पत्ति ठान्ने प्रवृत्ति भएका कर्मचारी र राजनीतिक पहुँचवालाहरूले उनलाई बदनाम गर्न र सरुवाका लागि दवाब सिर्जना गरेको उल्लेख गरेका छन्।

उनले रामेछापका एक स्थानीय नेता केदार कार्कीमाथि अस्पतालको संचालनमा हस्तक्षेप गर्न खोजेको, निजी होटलका बिल भुक्तानी गर्न दबाब दिएको र यस्ता माग अस्वीकार गरेपछि धम्कीसमेत दिएको आरोप लगाएका छन्। “मेरो कार्यकक्षमै आएर ती नेताले भनेका थिए – ‘तीन दिनमै तेरो सरुवा नभए मेरो नाम पनि केदार होइन’,” उनले फेसबुकमा लेखेका छन्।

डा. श्रेष्ठका अनुसार छानबिन प्रक्रियासमेत नसकिएपछि एकाएक उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइयो। हेटौंडा पुगेपछि कुनै औपचारिक स्पष्टीकरण नदिई जबरजस्ती फेरि रामेछाप पठाउने प्रयास भएको उनले बताएका छन्।

“१६ वटा टाँका लागेको शरीर, दुई वर्षकी छोरी र श्रीमतीसहित रातारात काठमाडौं आउनुपर्‍यो,” उनले लेखेका छन्। यति धेरै मानसिक तनावपछि उनले आत्महत्या प्रयाससमेत गरेको उल्लेख गर्दै, “नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ,” भनेका छन्।

हाल डा. श्रेष्ठ सम्पर्कविहीन छन् र प्रहरीद्वारा उनको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय