उर्लाबारी-७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार विहान विद्यालयमा आयोजित उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक आनन्द कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको रुचि, क्षमता र मनोभावलाई आधार बनाएर प्लस टु तहमा विषय छनोट कसरी गर्ने, कुन विषयको भविष्यमा कस्तो सम्भावना छ र कुन क्षेत्रमा भविष्य बनाउनु उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिइएको थियो।

 

 

यस्तै सो कार्यक्रममा विद्यार्थीहरूको लक्ष्य पहिचान, प्रेरणा विकास र आगामी अध्ययनका लागि मार्गचित्र बनाउन सहजिकरण गरिएको विद्यालयले जनाएको  छ । कार्यक्रममा करिब १ सय ५० विद्यार्थीको सहभागिता रहेको विद्यालयकी कोअर्डिनेटर श्रेयसी थापाले बताईन् ।

करिव तीन घण्टा लामो अन्तर्क्रियामा विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै जिज्ञासा प्रस्तुत गरेका थिए। ती जिज्ञासाहरूलाई प्रधानाध्यापक कार्की, कोअर्डिनेर थापा, शिक्षक शंकर पौडेल, ओम दुलाललगायतले सम्बोधन गरेका थिए।

उक्त कार्यक्रममा प्रधानाध्यापक कार्कीले विद्यालयले हालसम्म हासिल गरेका शैक्षिक तथा अतिरिक्त गतिविधिहरू, तालिम र उपलब्धिहरू बारे समेत जानकारी दिएका थिए।

त्यस्तै सो अवसरमा विद्यालयले यसअघि वैशाख २७ गतेदेखि सञ्चालन गरेको ४५ दिने रोबोटिक्स कक्षामा  सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । प्रशिक्षक अंकित चापागाईद्वारा सञ्चालित उक्त कक्षामा एआई प्रविधि र रोबोटसम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

विद्यालयका शिक्षक भूपाल खतिवडाले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सन्तोष लिम्बूले दिएका थिए। साथै, सो कार्यक्रमको अन्त्यमा शिक्षक शशी मगरले धन्यवाद मन्तव्य दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय