उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आयोजनामा सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको ‘एआई प्रविधि र साइबर अपराध’ सम्बन्धी दुईदिने सचेतना तालिम शनिबार सम्पन्न भएको छ। उर्लाबारी ५ स्थित होटल ग्राण्डमा आयोजित सो तालिममा कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रमुख सहयोग रहेको थियो।

शुक्रबार तालिमको उद्घाटन प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले गरेकी थिईन् । पहिलो दिन प्रशिक्षकको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसपी ध्रुवबहादुर श्रेष्ठले कृत्रिम बौद्धिकता (एआई) को वर्तमान प्रयोग, पत्रकारितामा यसको सकारात्मक पक्ष र साइबर अपराधका सम्भावित जोखिमबारे जानकारी दिएका थियो।

तालिमको दोस्रो दिन सञ्चारविद् लिलाराज भट्टराईले प्रशिक्षण दिएका थिए। उनले डिजिटल सुरक्षाको आवश्यकता, सामाजिक सञ्जालमा देखिने साइबर जोखिम, फ्याक्ट चेकिङ र डेटा सुरक्षाबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। यस्तै उनले एआईद्वारा तयार गर्न सकिने विभिन्न समाचारजन्य विषयवस्तुको मोडल बारे समेत प्रशिक्षण गराएका थिए ।

शनिबार आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बोल्दै यस्ता तालिमहरूले सञ्चारकर्मीहरूलाई प्रविधिसँग आत्मसात् गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रविधिको प्रयोग लिई समाचारजन्य विषयवस्तु छिटो छरितो रुपमा तयार गर्न सकिने बताउदै समयसँगै सबैलाई प्रविधिमैत्री बन्न प्रेरित गरे । उनले आगामी दिनमा महासंघले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन् ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका संस्थापक मेयर तथा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले साइबर अपराधसम्बन्धी सचेतना सञ्चारकर्मीसहित सबै सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अत्यन्तै आवश्यक रहेको बताए ।

सो कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष विक्रम लुइँटेल, महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, कोषाध्यक्ष कौशल निरौला, सहसचिव रेवती निरौला लगायतको आतिथ्यता रहेको थियो।

सो तालिममा उर्लाबारीका अग्रज पत्रकार, सञ्चार क्लबका पूर्वअध्यक्षहरू, उर्लाबारी बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरू तथा लेटाङ नगरपालिका, मधुमल्ला गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । २२ वर्षदेखि ६० वर्ष उमेर समूहका सहभागीहरूको सक्रियता रहेको सो तालिम अत्यन्तै लाभदायी रहेको सहभागीले बताएका छन् ।

तालिमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन कार्यक्रमको संचालन सञ्चार क्लवका पूर्व अध्यक्ष घनश्याम भण्डारीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय