उर्लाबारी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मोरङमा नेकपा माओवादी केन्द्रलाई दुई वटा निर्वाचन क्षेत्र दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय संसद निर्वाचनमा मोरङका छ संघीय निर्वाचन क्षेत्र मध्ये बढीमा एक क्षेत्र मात्र माओवादीलाई दिन सकिने उनले बताए ।
शनिवार नेपाली काँग्रेस उर्लाबारीले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि अर्यालले गठबन्धनमा छलफल गरेर सिट बाँडफाँट गरिने बताए । स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा सिट बाँडफाँट गर्ने पार्टीमा निणर्य भएको उनले सुनाए ।
मोरङमा स्थानीय तह निर्वाचनमा काँग्रेसको हारको प्रसंगमा उनले काँग्रेसका उम्मेद्वारलाई हराउन काँग्रेसजन नै लाग्नु दुःखद भएको बताए ।
‘काँग्रेसको सत्रु अरु कुनै छैन, काँग्रेस नै हो’ उनले भने, ‘पार्टीभित्रको विखण्डनले हार भएको हो ।’ उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई इमान्दारितापूर्वक जनताको काम गर्न निर्देशन दिए ।
ADVERTISEMENT