
उर्लाबारी । झापाको दमक नगरपालिका स्थित वडा नम्वर-१० मा राष्ट्रिय भूमि आयोगले ऐलानी जग्गा नापजाँच आजदेखि सुरु गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर- ८ को सिमानामा पर्ने झापाको दमक- १० कुशल बस्ती र आशिष टोलमा पर्ने कित्ता नम्बर १४८ र २६ बाट नापी सुरु गरेको हो ।
राष्ट्रिय भूमि आयोग अमिन कर्मजय ठाकुर, नगरपालिकाका प्राविधिक ज्ञानेन्द्र गौतम र लिलाबहादु खत्रीको टोलीले ऐलानी ब्लक नापजाँच गरी सोमबार ब्लक छुट्याएको छ ।
ब्लक भित्र जोगभोग गर्दै आएकाहरुको मंगलबारदेखी कित्ता काट गर्ने राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्र प्रमुख डम्बर राज बरालले जानकारी दिनुभयो ।
नापीमा आउने कर्मचारीलाई निर्वावाद काम गर्न दिने हो भने कामले निरन्तरता पाउने समयमै लालपुर्जा प्राप्त हुने वडा नम्बर १० अध्यक्ष राजेन्द्र भण्डारी बताए ।
नापी स्थलमा मोरङ संग सिमाना जोडिएको उर्लाबारी नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष कुलबहादुर कार्की र दमक नगरपालिकाबाट स्वयम् वडा नम्बर-१० का वडा अध्यक्ष राजेन्द्र भण्डारी लगाएतका जनप्रतिनिधिको उपस्थिती रहेक थियो ।
वडा नम्बर १० मा भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी १६० र अव्यवस्थित बसोबासीहरु ३६६ गरि ५ सय ३९ जनालाई यस अघि जग्गाको निस्सा वितरण गरिएको थियो । । निस्सा प्राप्त गरेका भुमिहिनहरुले जग्गाको धनिपुर्जा पाउने चरणमा पुगेको छ ।



