दिलीप पोखरेल/ उर्लाबारी

पालको मुख्यत: तराई क्षेत्रमा मनाइने चारदिने छठ उत्सव मंगलबारदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व हिजोदेखि तराईका झापा, मोरङ, सुनसरी , महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका क्षेत्रमा धुमधामका साथ सुरु भएको छ ।

यसैबिच उर्लाबारीमा समेत मैथिली समाज सेवा समितिको आयोजनामा छठ पर्वको तयारी तिव्र रुपमा पारिएको छ । मुख्यत: उर्लाबारीको मावा र सोल्टि खोला किनारमा छठ पर्व मनाईदै आएको छ।

उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित सोल्टि खोलामा मैथिली समाज सेवा उप- समितीको आयोजनामा हरेक वर्ष छठ पर्व मनाईदै आएको छ ।

सो उप-समितीको व्यवस्थापनमा बिहिबार दिउसो करिव ३ बजेदेखि पुजाआरधना सुरु गरिने उप-समितीका अध्यक्ष प्रकाश चौधरीले बताए । यस्तै उनले साँझ ६ बजेदेखि औपचारिक कार्यक्रमको समेत आयोजना गरि पुजालाई भव्य र व्यवस्थित गरिएको जानकारी दिए । सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ ।

त्यस्तैगरि चौधरीले सो कार्यक्रममा नृत्य ,गायनलगायत विभिन्न हाँस्यव्यङ्ग्यात्मक प्रस्तुतीसहित भरपुर मनोरञ्जन प्रदान गरिने बताए ।

यस्तै उपसमितीका सचिव सुजित सिहले यसपटकको पुजामा ३७ वटा घाट बनाईएको बताउदै घाट शृङ्गारिने काम जारी रहेको बताए । यस्तै उनले पुजाआरधानामा सहज हुने अभिप्रायले यसपटक भने सूर्य भगवान र छठ माताको मुर्ती घाटको बिचको राखिएको जानकारी दिए ।

उनकाअनुसार हालसम्म घाट र स्टेज निर्माण सहित २ ÷२ वटा पण्डाल, लाईट गेट र अस्थाई शौचालय , ३ वटा चेन्जिङ रुम र १ वटा मुर्ती स्टेज निर्माण गरिएको छ । यस्तै उनले पुजा हुने क्षेत्रमा जेसिभी लगाएर माटो मिलाउने काम सम्पन्न भई किनारलाई समतल समेत बनाईएको जानकारी दिए ।

यस्तै उनले घाटमा टेण्ट ,लाईट र साउण्ड सिस्टमको व्यवस्थापकीय जिम्मा उर्लाबारी वडा नम्बर ५ स्थित बद्रि टेण्ट हाउसलाई दिईएको जानकारी गराउदै आकर्षक लाईट गेटमा श्रद्धालु भक्तजनहरुलाई स्वागत गरिने बताए।

यता उप- समितीका कोषाध्यक्ष मनोज चौधरीले सो पुजा सम्पन्न गर्न करिव १ लाख ५० हजार रकम खर्च हुनसक्ने बताए । सो पुजा सम्पन्न गर्न नगरपालिकाले ५० हजार नगद सहयोग गरेको छ भने घाटस्थलका व्रतालु भक्तजनहरुसँग केहि रकम समेत संकलन गरिएको बताईएको छ ।

के हो छठ पर्व ? कस्तो छ यसको महिमा ?
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको विशेषता रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन मंगलबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । हिजो व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतकाअनुसार द्रोपदीसहित पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको पुजारीहरु बताउछन् ।

विगतमा तराई मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौँसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत पहाडी क्षेत्रमा समेत धुमधामका साथ मनाउन थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय