दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीको मोवाइल वर्ल्डबाट करिब ४ करोड रुपैयाँ बराबरको मोवाइल चोरी भएको एक हप्ता बितिसकेको छ, तर अपराधीहरू अझै पत्ता लाग्न सकेका छैनन्। स्रोतका अनुसार चोरी गरिएका मोबाइलहरू भारततर्फ गइसकेका छन्, तर प्रहरी अनुसन्धानले कुनै ठोस प्रगति देखाएको छैन।

यो घटना सुरक्षाको गम्भीर कमजोरीको संकेत मात्र होइन, संगठित अपराधको झल्को पनि दिन्छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट मात्र करिव १ सय ५० मिटरको दुरीमा भएको यो ठुलो चोरीपछि स्थानीय व्यवसायीहरू त्रसित छन्। सुरक्षाको अभावका कारण उनीहरू आफ्नो व्यापारलाई लिएर चिन्तित छन्।

चोरी भएको एक हप्ता बितिसक्दा पनि अपराधी पहिचान हुन नसक्नु प्रहरीको दक्षतामाथि प्रश्नचिह्न खडा गर्छ। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको बताइए पनि, ठोस परिणाम नआउनुले प्रहरी अनुसन्धान कति प्रभावकारी छ भन्ने प्रश्न उठ्छ।

सबैभन्दा गम्भीर विषय भनेको स्रोतहरूले दिएको जानकारीअनुसार मोबाइलहरू सीमापार भइसकेको हुनसक्ने आशंका हो। यदि यति महँगो चोरीका सामानहरू भारततर्फ गइसकेका हुन् भने, त्यसले प्रहरी प्रशासनको कमजोरी मात्र होइन, सीमापार अपराधको सम्भावनालाई पनि उजागर गर्छ। साथै त्यति ठुलो परिमाण चोरी भएकै दिन सीमापार भैसकेको हो भने यसले गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । प्रहरी अनुसन्धान कागजी प्रक्रिया मात्र सीमित हुने हो कि वास्तविक अपराधीहरू पक्राउ पर्नेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

दैनिक रुपमा करिव १६ घण्टा प्रहरीको अनुसन्धानमा सहजीकरण गर्दै आएका मोवाइल वर्ल्डमा संचालक योगराज कार्की प्रहरी अनुसन्धानमा प्रश्न गर्दै आफ्नो फेसबुकमा लेख्छन्,” बासी भात चोरे जस्तो छ अनुसन्धान, कता देखि मोवाइल पत्ता लाग्नु । दक्ष अनुसन्धानकर्ता चाहियो, मेरो संघको ध्यानाकर्षण होस् ।”

उनले प्रहरी अनुसन्धानमा शंका गर्दै उर्लाबारी उद्योग वाणिज्य संघ र मोवाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघलाई विज्ञ अनुसन्धानकर्ता झिकाईदिन आग्रह गरेका हुन् ।

यता सो घटनाबारे दिनरात नभनी पथरी प्रहरीका प्रमुख डीएसपी डीएसपी मोहनविक्रम दाहालको कमाण्डमा उर्लाबारी प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक राकेश यादवसहितको टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उर्लाबारी बजार, दमक, पथरी, ईटहरी,विराटनगर र जोगवनी नाकालगायतका क्षेत्रहरुमा जडित सीसीटिभी फुटेज संकलन गरि अनुसन्धान गर्दै आएको छ । यस्तै सो पसलमा कार्यरत कर्मचार‌ी, प्राविधीक तथा अन्य व्यवसायीलगायतलाई समेत सोधपुछ समेत गर्दै आएको छ।

त्यस्तैगरी प्रहरीले मोवाईल फोन सम्बन्धि जाँचबुझ गर्ने डिभीआर डेटा समेत प्राप्त गरेको छ । तर दु:ख लाग्दो विषय प्रहरीसँग सो डेटा चाँज गर्न सक्ने दक्ष प्राविधिक छैन । दक्ष प्राविधिक अभावका कारण प्रहरीको अनुसन्धान नै प्रवाभित बनेको पाईएको छ।

प्रहरीसँग विभिन्न प्रविधि हुदाहुदै पनि दक्ष प्राविधिक नहुनु दुखद पक्ष हो । प्रहरी अनुसन्धानलाई तीव्र पारेर अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस्। यदि यो घटनालाई गम्भीर रूपमा नलिएर प्रहरी प्रशासनले ढिलासुस्ती गरिरह्यो भने, उर्लाबारीलगायतका व्यापारिक केन्द्रहरू अपराधीहरूको निशानामा पर्ने जोखिम बढ्नेछ। अब प्रहरीको विश्वसनीयता समेत दाउमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय