उर्लाबारी-३ मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिता सुरु भएको छ । मंगलबार वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको हस्तबाहुलीबाट सो प्रतियोगिताको उद्घाटन भएको थियो । यस्तै वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलले सो प्रतियोगिताको ट्रफी उद्घाटन गरेका थिए ।

प्रतियोगिताको आज भएको उद्घाटन खेलमा वडा नम्बर ४ को भेट्रान टीम विजयी भएको छ । ४ नम्बर भेट्रानले वडा नम्बर १ को भेट्रानलाई ५-१ को फराकिलो गोलअन्तरले हराएको थियो । वडा नम्बर ४ को जितको लागि पहिलो हाफको १ मिनेटमा गणेश लिम्बु, ४७ औँ मिनेटमा तिलोचन दाहाल र ४९ औँ मिनेटमा उत्तम धिमालले १÷१ गोल गरेका थिए भने प्रकाश राईले २० औं र २६ औँ मिनेटमा २ गोल गरेका थिए । यस्तै १ नम्बर भेट्रानका टिकाराम धिमालले खेलको ४८ औं मिनेटमा रक्षात्मक १ गोल गर्न सफल भएका थिए ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले वडा नम्बर ४ का भेट्रान खेलाडी प्रकाश राईलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनलाई ट्रफीले सम्मानित गरिएको थियो । यस्तै सो अवसरमा १ नम्बर भेट्रान टीमलाई आयोजकले मायाको चिनो प्रदान गर्दै सहभागिताको लागि धन्यवाद व्यक्त गरेको थियो ।

उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टीमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।

वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिए ।

उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ।

आयोजक क्लवका अध्यक्ष सुवेदिकाअनुसार प्रतियोगिता संचालनको लागि खेलप्रेमी, समाजसेवी, स्थानिय संघसंस्था लगायतसँग आर्थीक संकलन गरिएको छ ।

यसैबिच प्रतियोगिताको दोस्रो दिनको खेल बुधबार वडा नम्बर ६ र २ का भेट्रान टीमबिच दिउसो ३ बजेदेखी संचालन हुने खेल संयोजक विजय माझीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय