पथरी, २३ साउन । पूर्वी मोरङका पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ र बेलबारी क्षेत्रमा रहेका केही खोलाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन्।
स्थानीयका अनुसार हाल खोला ठेक्का प्रक्रिया रोकिएको भए पनि दिन तथा रातको समयमा नदीजन्य पदार्थ निकाल्ने गतिविधि देखिन्छ। लेटाङका खोलाबाट बालुवा तथा गिट्टी लिएर जाने केही गाडी इलाका प्रहरी कार्यालय नजिकैबाट समेत गुज्रने गर्दा पनि प्रहरीले अन्देखा गर्ने गरेको उनीहरूको दाबी छ ।
केही निर्माण व्यवसायी र सवारी चालकहरूले खोलामा प्रवेश गर्दा प्रहरीसँग समन्वय गर्नुपर्ने अवस्था हुने र यसका कारण ढुंगा–बालुवा महँगो हुने बताए । उनका अनुसार, सामान्य समयमा २५ सय रुपैयाँ पर्ने बालुवाको मूल्य हाल ३५ सय रुपैयाँसम्म पुगेको छ ।
नाम नखुलाउने सर्तमा एक चालकले भने, “प्रत्येक प्रहरी चेकपोष्टमा रकम बुझाउनुपर्छ, जसका कारण उपभोक्ता मारमा परेका छन् ।” उनका अनुसार, यो अवस्थाले उपभोक्ताले सामान्य भन्दा १ हजारदेखि ५ हजार रुपैयाँसम्म बढी तिर्नुपरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसीराम अर्यालले भने आफूले हालै मात्र कार्यभार सम्हालेको र आफ्नो कार्यकालमा यस्तो घटना नभएको बताए। “यो आरोप निराधार हो। खोलाबाट अवैध उत्खनन भएमा कडाइका साथ निगरानी र कारबाही गरिनेछ,” डिएसपी अर्यालले स्पष्ट पारे ।








