–दिपेश थापा
उदयपुर १४ साउन । उदयपुरको कटारी नगरपालिका–४ मा सञ्चालित ओलिभ एण्ड फ्रुट्स नर्सरीले विभिन्न फूल, फलफूल, सजावटी तथा वनजन्य बिरुवा उत्पादन गर्दै आएको छ ।
स्थानियय शंकर तामाङले करिब ३ कठ्ठा जमिनमा ८ लाख रुपैयाको लगानीबाट थालनी गरेको नर्सरीमा सयपत्री, मखमली, गुलाब, जरबेरा, पेटुनिया, जिनिया, डाहलिया लगायतका फूलका बिरुवासँगै कागती, सुन्तला, जुनार, आँप, लिची, अम्बा, ड्रागन फ्रुट, एभोकाडो, कफी, सुपारी, कटहर लगायतका लगभग २५ प्रजाति भन्दा बढीका फलफूलका बिरुवा रहेका छन् ।
कटारी नगरपालिकामा पछिल्लो समय गुणस्तरीय बिरुवाको माग निरन्तर बढ्दै गइरहेका बेला तामाङले सुरुवात गरेको नर्सरी व्यावसाय अहिले स्थानिय स्तरमा आन्दानीको राम्रो सम्भावनाको स्रोत बनेको छ ।
तामाङले संचालन गरेको नर्सरी व्यावसायबाट उनि आफु मात्र पालिएका छैन्न्, उनि सगै सिङगो परिवार र ३ जान स्थानियलाई पनि रोजगारी प्रदान गरेका छन् ।
७–८ लाख रुपैयाको लगानीबाट सुरु गरेको व्यावासय अहिले १२ देखी १५ लाखको हाराहारीमा पुगेको र वार्षिक रुपमा नर्सरीबाट उत्पादित विरुवाले ५ लाखको हाराहरीमा आम्दानी गरीरहेको तामाङ बताउछन् ।
सुरुवाती चरणमा सीमित प्रजातिका बिरुवा उत्पादन गरिए पनि अहिले नर्सरीमा एक हजारभन्दा बढी विभिन्न प्रजातिका बिरुवा उत्पादन तथा बिक्री भइरहेको उनले बताए । “हामीले सुरुमा थोरै बिरुवाबाट व्यवसाय सुरु गरेका थियौँ, अहिले ग्राहकको विश्वाससँगै उत्पादन पनि बढ्दै गएको छ,” ।
नर्सरीमा उत्पादन भएका बिरुवा कटारीसँगै उदयपुर, सिन्धुली, सिराहा, सप्तरी, धनुषा तथा आसपासका जिल्लामा बिक्री हुने गरेको उनि बताउछन् ।
विशेष गरी बिरुवा उत्पादन, ग्राफ्टिङ, कटिङ, एयर–लेयरिङ, बिरुवा बिक्री तथा किसानलाई प्राविधिक परामर्श प्रदान गर्नु नर्सरीका प्रमुख गतिविधि मानिन्छन्, जुन गतिविधीलाई तामाङले शुक्षम रुपमा ध्यान दिएको पाईन्छ भन,े बिरुवाको गुणस्तर कायम राख्न कोकोपिट, भर्मिकम्पोस्ट, जैविक मल, आधुनिक सिँचाइ प्रणाली तथा नियमित रोग–कीरा व्यवस्थापन जस्ता प्राविधिक धारलाई पनि तामाङले अपानाएको देखिन्छ ।
साथै उनले ग्राहकलाई बिरुवा बिक्रीसँगै रोपाइँ, मल व्यवस्थापन, सिँचाइ तथा बिरुवाको संरक्षण सम्बन्धी आवश्यक जानकारी पनि उपलब्ध गराउने गरेका छन् ।
साथै उनले व्यवसाय सञ्चालनका क्रममा मौसमको अनिश्चितता, उत्पादन लागतमा वृद्धि, ढुवानी समस्या, रोग–कीराको प्रकोप तथा बजारको उतारचढाव मुख्य चुनौतीका रूपमा रहेको बताए । यद्यपि गुणस्तरीय बिरुवा उत्पादन, ग्राहकसँगको विश्वास र आधुनिक प्रविधिको प्रयोगका कारण व्यवसायलाई निरन्तर विस्तार गर्न सफल भएको उनको भनाइ छ ।
“गुणस्तरीय बिरुवा उत्पादन गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो । ग्राहक सन्तुष्ट भए व्यवसाय आफैं अगाडि बढ्छ,” तामाङले भने ।
गुणस्तरीय बिरुवा उत्पादन, ग्राहकको विश्वास र सेवा विस्तारका कारण नर्सरीले छोटो समयमै राम्रो सफलता हासिल गरेको छ ।
भविष्यमा अझ धेरै प्रजातिका फूल तथा फलफूलका बिरुवा उत्पादन गरी सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक तामाङले बताए । स्थानीय सरकारबाट प्राविधिक सहयोग, सहज ऋण तथा बजार व्यवस्थापनमा थप सहयोग प्राप्त भए नर्सरी व्यवसायलाई अझ विस्तार गर्न सकिने उनको विश्वास छ ।
यसरी सानो लगानीबाट सुरु भएको ओलिभ एण्ड फ्रुट्स नर्सरी आज कटारी क्षेत्रका किसानका लागि गुणस्तरीय बिरुवाको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। बिरुवा उत्पादन, स्थानीय रोजगारी सिर्जना, किसानलाई प्राविधिक सेवा तथा वार्षिक राम्रो आम्दानीका कारण यो नर्सरी कटारी क्षेत्रकै प्रेरणादायी कृषि उद्यमका रूपमा चिनिन थालेको छ ।









