कार्तिक, ३० सुनसरी ।जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय भेला सुनसरीमा सम्पन्न भएको छ। प्रदेशस्तरमा पहिलोपटक आयोजित यस भेलामा आवास व्यवस्थापन, सहरी पूर्वाधार, योजनाबद्ध विकास र आधुनिक सहरीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी, विशेषज्ञ तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रुत सहरीकरण, दीगो विकास र आधुनिक शहर निर्माणका लागि आफ्ना योजनाहरू प्रस्तुत गर्दै ग्रीन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी र मेगा सिटी जस्ता अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्ने लक्ष्य साझा गरेको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले जग्गा कारोबारका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले प्रदेशस्तरमा पहिलोपटक गरिएको यस्तो भेला आगामी दिनमा सहरी व्यवस्थापनका महत्वपूर्ण नीतिगत आधारहरू तयार गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे।

सहभागीहरूले नेपालमा सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यवसायिक विकासका क्षेत्रमा नवीन सोच, प्रविधि र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। योजनाबद्ध शहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दीगो पूर्वाधार निर्माणमा संघले देखाउँदै आएको सक्रिय भूमिकाको प्रशंसा गर्दै, अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव पनि दिए।

कार्यक्रम समापन गर्दै संघका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव, सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। संघले निकट भविष्यमा निर्वाचनमार्फत नयाँ कार्य समिति चयन प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय