सुनसरी । पत्नीको हत्या गरेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका सुनसरीका एक युवा नेपाल फर्किएपछि पक्राउ परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका-४ का ३५ वर्षीय विनोदकुमार खत्वेलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ५ वर्षअघि अर्थात २०७४ साल जेठ ४ गते राति कुटपिट गरेर विनोदले पत्नी २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरेको खुलेको छ ।
कुटपिटबाट बेहोस भएको अवस्थामा उद्धार गरेर अनितालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका लागि पुर्याउनसाथ उनको मृत्यु भएको हो । तर विनोदले भने पत्नीले विष सेवन गरेको बताएका थिए ।
पोस्टमार्टम रिपोर्टबाट कुटपिटका कारण मृत्यु भएको पुष्टि भयो । फरार भएका कारण हत्यामा संलग्न विनोद पक्राउ परेनन् । लुकिछिपी वैदेशिक रोजगारीका लागि मलेसिया गएको पाइएको छ । मलेसियाबाट केहीदिनअघि मात्रै घर फर्किएका उनलाई प्रहरीले गत सोमबार साँझ पक्राउ गरेको हो । घटनाको ५ वर्षपछि पक्राउ गरेर विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी ढकालले दिए ।
विनोद र अनिताबीच २०६५ सालमा प्रेम विवाह भएको थियो । उनीहरुका १ छोरा र २ छोरी छन् । प्रहरीका अनुसार बिहे गरेदेखि नै विनोद र उनका परिवारका सदस्यले अनितलाई शारीरिक तथा मानसिक यातना दिने गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय