
पूर्व क्षेत्रमै अग्रणी शैक्षिक गन्तव्यको रुपमा परिचित उर्लाबारी—६ स्थित मोरङ मोडल कलेजमा विद्यालय स्तरिय दोस्रो मोरङ मोडल कप भलिबल टुर्नामेन्ट २०८१ प्रतियोगिता संचालन हुने भएको छ ।
पुरुषतर्फको उक्त भलिबल प्रतियोगिता यही फागुन १६ गतेदेखि कलेजको प्राङ्गणमा संचालन हुने विद्यालयका प्रिन्सिपल सन्दिप पौड्यालले जानकारी दिए । “ऊर्जाको बहाव, विजयको प्रभाव – खेलौं भलिवल” भन्ने मुल नाराका साथ संचालन हुने सो प्रतियोगिताको फाईनल खेल आगामी फागुन १८ गते हुने पौडेलले बताए ।




सो प्रतियोगितामा उर्लाबारी, रतुवामाई र पथरीशनिश्चरे नगरपालिकासहित मिक्लाजुङ गाउपालिका समेतको गरि जम्मा १६ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहने प्रिन्सिपल पौड्यालले बताए ।
कक्षा १२ सम्ममा विद्यार्थीहरुको सहभागिता रहने सो प्रतियोगिताको विजेताले २० हजार १ सय ११ रुपैया , उपविजेताले १० हजार १ सय ११ र तृतिय स्थान हाँसिल गर्नेले ७ हजार १ सय ११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुपाल काफ्लेले बताए ।
यस्तै काफ्लेले सो प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडीलाई पुरस्कृत गरिने जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा वेष्ट स्याटर, वेष्ट सर्भर, वेष्ट लिबेरो, वेष्ट व्लकर, वेष्ट स्पाईकर, राईरिज प्लेयर र प्लेयर अफ दि सिरिजलगायतका विधामा खेलाडीहरुलाई सम्मान गरिनेछ ।
शुक्रबार मोरङ मोडेलको प्राङ्गणमा एक भव्य समारोहबीच विद्यार्थीहरुले मार्च पास गरेर दोस्रो संस्करणको सो प्रतियोगिताको उद्घाटन गरिने प्रन्सिपल पौड्यालले जानकारी दिए ।
वि.सं. २०३७ मा स्थापित सो विद्यालयमा हाल १ हजार २ सय ४५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्यापन हुने सो विद्यालय÷ कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।