
उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर २ विजयी भएको छ ।
मंगलबारे युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न खेलमा उर्लाबारी वडा नम्बर २ को टीमले वडा नम्बर ९ लाई ३-० को फराकिलो अन्तरले हराएको छ ।




जितको लागि २ नम्बर वडाका सन्दिप दाहालले खेलको ५२ औं र ७३ औं मिनेटमा २ गोल गरेका थिए । यस्तै मिङ मगरले खेलको ९ औं मिनेटमा १ गोल गरेका थिए ।
उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर २ का सन्दिप दाहाललाई म्यान अफ दि म्याच घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।
खेल संयोजक विजय माझीकाअनुुसार उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुनेछ । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्ने खेल संयोजक माझीले बताए । यस्तेै आयोजकले प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडी सम्मान समेत गरिने बताएको छ ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए । त्यस्तै उनले प्रतियोगिताको चौथो दिनको खेल शनिबार वडा नम्बर ८ र ५ बिच दिउसो ३ बजेदेखि संचालन हुने बताए ।