
उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमीफाईनल खेलमा वडा नम्बर ५ को टीम विजयी भएको छ । जितसँगै ५ नम्बर वडा प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
मंगलबारे युवा क्लबको आयोजनामा आज सम्पन्न सेमीफाईनल खेलमा उर्लाबारी वडा नम्बर ५ को टीमले वडा नम्बर ६ लाई ३-१ को गोल अन्तरले हराएको छ ।




जितको लागि वडा नम्बर ५ का सुगम मगरले क्रमश: खेलको ३२ र ३३ औँ मिनेटमा १÷१ गोल गरेर अग्रता दिलाएका थिए । यस्तै खेलको ५१ औं मिनेटमा ५ नम्बर वडाका आयुष मगरले १ गोल गरेर आफ्नो टीमको जित निश्चित गरे ।
उता वडा नम्बर ६ ले बचाउका लागि १ गोल गरेको छ । जर्सी नम्बर १७ का मनिस कार्कीले खेलको १६औं मिनेटमा १ गोल गरेका थिए ।
उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ५ का सुगम मगरलाई म्यान अफ दि म्याच घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भएका छन् ।
उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुनेछ । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक माझीले बताए ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए । त्यस्तै उनले प्रतियोगिताको दोस्रो सेमीफाईनल खेल मंगलबार वडा नम्बर १ र २ नम्बर वडाबीच स्पर्धा हुने बताए ।