उर्लाबारी चौक पुर्व, थानाको ठिक उतर राजमार्गसंगै चिटिक्क परेको एउटा होटल देखिन्छ । यो हो ‘बगैंचा सेकुवा घर ।’ सर्वसाधारणदेखि ‘एलिट वर्ग’ सम्मका ग्राहकलाई फास्टफुड, नास्ता र खाना ग्रहण गर्न सहज हुने किसिमले होटल खोलिएको संचालकको भनाई छ ।
सोमबारबाट बगैंचा सेकुवा घर संचालनमा आएको हो । लामो समय होटल व्यवस्थापनको अनुभव संगालेका स्थानीय युवा दिलकुमार लिम्बू र दिनेश ढकालले बगैंचा सेकुवा घर संचालनमा ल्याएका हुन् । मुलत: सेकुवा घर नाम दिइएपनि होटलको मेनुमा सेकुवा मात्रै नभएर मासु र माछाका अन्य परिकारहरु पनि समावेश गरिएको छ ।
संचालक लिम्बूका अनुसार मटका चिया, कुखुराको फिला र पखेटाको सेकुवा, मटन तथा चिकन मटका होटलका विशेषता हुन् । कुखुरा, खसी र माछाबाहेक अन्य प्राणीको मासु वर्जित गरिएको होटलमा मम: साथै खाजा सेट, म:म, चाउमिन, थुक्पा र अर्डर अनुसार खानापनि तयार हुने बताइएको छ । पेय पदार्थ र हुक्का सेवनको समेत सेवा उपलब्ध गरिएको संचालक दिनेश ढकालको भनाई छ ।
एक पटकमा सय जना ग्राहकले खानपिन गर्न सक्ने किसिमले होटलको व्यवस्थापन गरिएको जनाउँदै व्यवस्थापकीय रुपमा होटलको किचन सरसफाईमा उतिक्कै ध्यान दिइएको ढकालले बताए । ‘होटलको किचनमा हरेक परिकारलाई फरक फरक राखिएको छ। हामी ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने प्रयास गर्छौं । एक पटका आएका ग्राहक फेरिपनि आऊन् भन्ने हाम्रो चाहना हुन्छ । हामी ग्राहकको रुचि अनुसारको परिकार तयार गरेर सेवा दिन्छौँ’ उनले भने । अन्यत्र भन्दा सस्तो दरमा परिकारको मुल्य समायोजन गरिएको उनको दाबी छ । अनुभवी र दक्ष कुक, वेटर ग्राहकलाई परिकार ‘सर्भ’ गर्न हरदम तयार रहने ढकालले जानकारी दिए ।
फराकिलो कोठा र वतानुकुलित व्यवस्था रहेको बगैंचा सेकुवा घरमा नामजस्तै सजावट गरिएको छ । कोठाका भित्ताभित्तामा आकर्षक तवरले फूलहरु सजावट गरिएको छ । गमलाका प्राकुतिक फूलहले विछट्टै रौनक थपिएको त्यहाँ पुग्ने जो कोहीलाई आभाष मिल्छ ।
समग्रमा बगैंचा सेकुवा घरको चिनारी चाहेको खाजा नास्ता छिटो, त्योपनि सुलभ मुल्यमा उपलब्ध हुने बताइएको छ ।