
उर्लाबारी, १० माघ । मोरङको उर्लाबारी नगरपालिका-१ मा निर्माण भएको झोलङ्गे पुल “लण्डन व्रिज” का नामले निकै भाइरल बनेको छ ।
यो पुल सामजिक संजाल, फेसबुक, टिकटक र इस्टाग्राममा “लण्डन व्रिज” का नामले निकै भाइरल बनेको छ ।
‘एन‘ टाइप डिजाइनमा निर्माण गरिएको यो पुलको आर्कषणताले सामाजिक संजालमा पनि राम्रै स्थान पाईरहेको छ ।
झट्ट हेर्दा कुनै विदेशी भुमिमा निर्माण भएको जस्तो देखीने यो पुलको डिजाइन नै मानिसहरुको आर्कषणको केन्द्र बनेको हो ।
पुलको आर्कषणले सामाजिक संजाल प्रयोग कर्ताहरुको मनलाई लोभ्याएको मात्रै छैन् वडा नम्वर-१ को सिरान बस्ती कान्छीचौक, आइतबारे, लक्ष्मीझार, माने, कोपीलाचौक, सानो कत्लेमा बसोबास गर्ने सयौ परिवारका हजारौ मानिसहरुलाई आवतजावत गर्न सहज पनि बनेको छ ।
पुर्वी मोरङकै ठुलो खोलाका रुपमा रहेको बक्रा खोला उर्लाबारीको वडा नम्वर- १, ४, ८ भएर बग्ने गर्दछ । यस खोलामा बर्खाको समयमा आउने बाढीका कारण वडा नम्वर- १ को पश्चिम भु-भागमा बसोबास गर्ने परिवारहरुलाई वडा कार्यालय आउजाउ गर्न पुल नहुदा लगभग १० किलोमिटर घुम्नु पर्ने बाध्यता थियो तर, अहिले उर्लाबारीको लक्ष्मिझार र हिलेडाँगीलाई जोड्ने स्थानमा पुल बनेपछि सो क्षेत्रका हजारौ परिवारलाई राहत मिलेको स्थानिय प्रकाश कुमार श्रेष्ठ बताउछन् ।
यो पुल ४ सय ५३ दशमलव ६० मिटर लम्वाईको रहेको छ । पुर्वपश्चिम लोकमार्ग देखी करिव ६ किलोमिटर उत्तरमा रहेको यस पुलमा दैनिक जसो सयौको संख्यामा मानिसहरु फोटो खिच्न, टिकटक बनाउन र युटुवमा भ्लग बनाउन आउने गर्दछन् ।
लामो समय वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेर काम गर्दै आएका लेटाङका प्रदिप पोख्रेल केही दिन अघि नेपाल आएका थिए । नेपाल आएका बेला सामाजिक संजालमा “उर्लाबारीको लण्डन ब्रिज” भनेर पोष्टहरु देखेपछि आफु पनि घुम्न आएको उनि बताउछन् ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानिय पुर्वाधार विभागको आयोजनामा १ करोडको लागतमा यो पुल बनेको हो ।
यस पुलको भारवहन क्षमता १ सय ६३ मेर्टिक टन अर्थात एकै पटकमा यस पुलमा १ हजार १ सय ७५ जना मानिसले आवतजावत गर्न सक्ने गरि निर्माण गरिएको छ ।
बक्रा खोलाको परिलो स्थानमा निर्माण भएको यस पुलबाट उत्तरमा रहेको पहाडी श्रृखला, तराईको चारखोसे झाडीको हरियाली र दमकमा रहेकोे दमक भ्यु टावरको दृश्य समेत हेर्न पाइने भएका कारण मानिसहरु यस पुलमा घुम्न आउने गरेको दमकका अर्का आगन्तुत केशव न्यौपाने बताउछन् ।
“लण्डन ब्रिज” ले उर्लाबारीका मात्रै नभएर पुर्वी मोरङ र पश्चिम झापाका मानिसहरुको समेत ध्यान खिच्ने गरेको छ ।
पुलको सौर्दयतामा रमाउन आउने मानिसहरुको भिड बाक्लिदै गएपछि पुलको किनारमा घुम्ती पसलहरु समेत खोलेर स्थानियहरुले दैनिक गुजारा गरिरहेका छन् ।
पुल निर्माणका लागि तत्कालिन उर्लाबारी नगरपालिका पुर्व मेयर खड्ग फागो, पुर्व सांसद घनश्याम खतिवडाको पहल रहेको थियो ।



