बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ ।
आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यस क्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पनि जनप्रतिनिधिलाई धकेलेका थिए ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई पार्टी प्यालेसको एउटा हलबाट अर्को हलमा जान अवरोध गर्ने क्रममा डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई धकेलेर पोखरीमा हुत्याएका थिए ।
वडाध्यक्ष क्षेत्रीले डीएसपी केसीले आफूहरुमाथि अभद्र व्यवहार र अन्याय भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरे । ‘शान्ति सुरक्षा दिने डीएसपीले अभद्र व्यवहार र ज्यादती गरेका छन्’, वडाध्यक्ष क्षेत्रीले भने, ‘धन्न पोखरी धेरै गहिरो नभएकाले बाँचियो, गहिरो भएको भए ज्यान जान पनि सक्थ्यो, यस्तो हर्कत गर्नेलाई कारवाही हुनुपर्छ ।’
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रमुख प्रशासकीय अधिकृतलाई सुरक्षा दिने क्रममा बाटो पन्छाउन खोज्दा घटना भएको बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईंले गृहमन्त्री बालकृष्ण खाँणको गृहनगरमा प्रहरी/प्रशासन लगायर वडाध्यक्षमाथि कुटपिट गर्ने प्रहरी अधिकारीमाथि तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।
एमालेको ज्ञापनपत्र