काठमान्डौ । नेपाली भूमि प्रयोग गरी मध्यमवर्गीय नेपालीलाई चर्को ब्याजमा ऋण प्रवाह गर्ने धन्दामा चिनियाँ नागरिक संलग्न रहेको पाइएको छ ।
ऋण प्रवाह गर्न खोलिएका ‘कल सेन्टर’ नै फेला परेपछि घटना पुष्टि भएको हो । दुई दिनको फरकमा प्रहरीले काठमाडौं र रुपन्देहीमा यस्ता ऋण प्रवाह गर्ने ‘कल सेन्टर’ फेला पारेको हो ।
प्रहरीले आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ मा चिनियाँ नागरिकले खोलेको ब्लु स्काई बिजनेस सोलुसन नामको ‘कल सेन्टर’ फेला परेको थियो । जसमा चिनियाँ, भारतीय र नेपाली गरी दुई सय ५० जना पक्राउ परेका थिए । सोही प्रकृतिको ‘कल सेन्टर’ प्रहरीले सोमबार काठमाडौंको गैरीगाउँमा पनि फेला पारेको छ । जसमा चिनियाँ, भारतीय र नेपाली गरी ३६ जना पक्राउ परेका छन् । उनीहरूले स्काई वर्ड सर्भिस सेन्टरका नाममा ‘कल सेन्टर’ सञ्चालन गर्दै आएका थिए ।
गैरकानुनी ढंगले ऋण प्रवाह भइरहेको सूचना थियो । प्रहरी निगरानीमा थियो । धन्दामा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन् । गत फागुनमा पनि केही चिनियाँ पक्राउ परेका थिए । धन्दाको प्रकृति हेर्दा विगतको र अहिलेको एउटै जस्तो देखिन्छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले ‘कल सेन्टर’का नाममा मध्यमवर्गीय नेपालीलाई चर्को ब्याज असुलेर ऋण प्रवाह भइरहेको अनुसन्धानबाट खुलेको बताए । ‘अवैध रूपमा ‘कल सेन्टर’ खोली ऋण प्रवाह भइरहेको सूचनापछि छापा मार्दा चिनियाँ, भारतीय र नेपाली कामदारबाट धन्दा चलिरहेका भेटियो । ३६ जना पक्राउ परेका छन् । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।
यसअघि प्रहरीले गत ९ फागुनमा गैरीगाउँबाटै चिनियाँ नागरिकसहित ३६ नेपालीलाई पक्राउ गरेको थियो । धन्दा चलाउन सिन्धुलीका दीपक श्रेष्ठको नाममा ‘लेमन ग्रुप अफ कम्पनी’ नामको कम्पनी नै खोलेका थिए । सोही दिन भक्तपुरको ठिमीबाट ८० नेपाली पक्राउ परेका थिए । गैरीगाउँको धन्दा पहिलेकै निरन्तरता रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय