दिलीप पोखरेल / उर्लाबारी
मोरङको उर्लाबारी चोकमा सञ्चालनमा रहेको भुसेछो रेष्टुरेन्ट पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। यसको मुख्य कारण हो— सामाजिक उत्तरदायित्वसँगै गरिव निमुखालाई निःशुल्क भोजन गराउने अभियान।

गत मंसिरदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको उक्त रेष्टुरेन्टका संचालक मिलन पोख्रेलले दैनिक रूपमा चार जना विपन्न व्यक्तिलाई खोजीखोजी निःशुल्क खाना खुवाउने कार्य गर्दै आएका छन् । संचालक पोख्रेलकाअनुसार हालसम्म ४ सय ८० भन्दा बढी मानिसहरूले भुसेछोमा निःशुल्क भोजन ग्रहण गरिसकेका छन्।

 

सम्भवत: मोरङमै भुसेछो गरिव निमुखालाई आह्वान गरेरै नि:शुल्क खाना खुवाउने एक रेष्टुरेन्टमा पर्नसक्छ ।

पछिल्लो समय होटल तथा रेष्टुरेन्ट व्यवसाय धराशयी हुदै आएको बेलामा भुसेछोले सामाजिक सेवाको नमुना प्रस्तुत गरेको छ। सो रेष्टुरेन्टमा दैनिक २५ देखि ३० जना ग्राहकहरू खाना खान आउने गर्छन्, जसमध्ये कतिपयले पोख्रेलको समाजसेवाको प्रशंसा गर्दै केही सहयोगस्वरूप ‘टिप्स’ समेत छोड्ने गरेका छन्।

पोख्रेल १४ वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका एक ऊर्जाशील युवा हुन्। खाडी मुलुकदेखि लन्डनसम्मको यात्रा तय गरेका पोख्रेलले बिजनेशमा मास्टर्स डिग्री गरेका छन्। उनी साहित्यमा पनि उत्तिकै सक्रिय छन्, दुई उपन्यासका ड्राफ्ट समेत तयार गरिसकेका छन्।

“विदेशमा हुँदा भोकको पीडा मैले प्रत्यक्ष अनुभव गरेँ। परिवार र समाजबाट टाढा हुनुको पीडा मलाई थाहा छ । त्यसैले यहाँ फर्किएर केही सकारात्मक काम गर्ने सोच बनाएँ,” पोख्रेलले भने। परिवार र समाजसँगै रहेर योगदान गर्ने उद्देश्यले उनले भुसेछो रेष्टुरेन्ट स्थापना गरेका हुन्।

यस्तो छ भुसेछोको पहिचान र विषेश परिकार:
व्यवस्थापन तथा आतिथ्य सेवामा पोख्रेलको अनुभव झल्कने गरी भुसेछोमा पारिवारिक वातावरण छ। उक्त रेष्टुरेन्टमा ६० जना अट्ने आकर्षक हल रहेको छ, जसलाई सामुदायिक संघसंस्थाहरूले बैठक, सेमिनार तथा कार्यक्रमहरूका लागि प्रयोग गर्दै आएका छन्। यस्तै सो हल अतिथी सेवामा समेत उत्तीकै उपर्यु्क्त स्थान मानिन्छ।

भुसेछोमा स्वच्छ वातावरण, ताजा सामग्री र मैत्री सेवा प्रमुख विशेषता हुन्। हाँसको छोइला, मुस्ताङे आलु, तास र भुसेछो खाना सो रेष्टुरेन्टका विशेष आकर्षण हुन्। यसका अलवा सो रेष्टुरेन्टमा पनिर पकौडा, चिकेन बकेट, सिजलर, भुटन, पाङ्ग्रा, जाँते कलेजो, लोकल कुखुराको सेकुवा, बिर्यानी, म:म:, चाउमिन, फ्राइ राइस लगायतका स्वादिष्ट परिकारहरू अर्डर गर्न सकिन्छ। साथै पेय पदार्थहरूको पनि भरपूर व्यवस्था रहेको छ ।

त्यस्तैगरि भुसेछोले उर्लाबारीभरि होम डेलिभरी सेवा समेत उपलब्ध गराएको छ। संचालक पोख्रेलकाअनुसार ग्राहकहरूको सुविधाका लागि द्रुत सेवा प्रणाली अपनाइएको हो।

सामाजिक उत्तरदायित्व, स्वादिष्ट भोजन र उत्कृष्ट सेवाको संयोजनले भुसेछो रेष्टुरेन्टलाई उर्लाबारीको एउटा प्रेरणादायक नमुना बनाएको छ।

सो रेष्टुरेन्ट वि.सं. २०७९ असोजदेखि उर्लाबारी चोकस्थित मालबासे पेट्रोल पम्पको उत्तरतर्फ सञ्चालनमा रहेको छ ।

तस्विरमा: सभाहलमा उर्लाबारी जेसीज बैठक बस्दै / फायल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय