उर्लाबारी, १९ साउन । मोरङको उर्लाबारी नगरपालिका–२ मा अवस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहद्वारा महिला सदस्यहरूको क्षमता अभिवृद्धि गर्न लक्षित दुई दिने निर्णय लेखन तथा अभिलेखीकरण तालिम सम्पन्न गरिएको छ ।

वन समूहसँग आवद्ध ३० जना महिला सदस्यहरूको सहभागिता रहेको तालिमको उद्देश्य समूह सञ्चालन, निर्णय प्रक्रिया तथा अभिलेखीकरणमा महिलाहरूको सहभागिता तथा दक्षता अभिवृद्धि गर्नु रहेको उपाध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।

उक्त तालिमको उद्घाटन उर्लाबारी–२ का वडाध्यक्ष कुमार कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष कडेलले सामुदायिक वनको स्रोत साधनको दीगो उपयोग गर्दै वन क्षेत्रलाई पर्यापर्यटनको गन्तव्य बनाउन तथा उत्पादनमुखी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले बेसार, अदुवा, माछापालन जस्ता वैकल्पिक आम्दानी स्रोतहरूको पहिचान गरी वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सामुदायिक वनका अध्यक्ष तारिलाल धिमालले सदस्यहरुको क्षमता अभिवृद्धिीका लागि वनले वार्षिक कार्ययोजना नै बनाएर समूहमा आवद्ध सदस्यहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सिपमूलक, प्राविधिक तथा व्यवस्थापन सम्बन्धी तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको बताउनु भयो । साथै, उहाँले यस तालिममार्फत महिलाहरू समुदायप्रति अझ उत्तरदायी र जिम्मेवार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

वन समूहको सचिव विद्या दनुवारको सञ्चालन र उपाध्यक्ष आचार्यको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा विशिष्ठ अथिती डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नविन  राज दहाल , वनका लेखा संयोजक हरिबहादुर कटुवालले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो । २ दिन सम्म संचालन हुने उक्त कार्यक्रमको सहजीकरण तालिमका प्रशिक्षक लोकप्रसाद भट्टराइले गर्नुहुने वन समितीले जनाएको छ । तालिम उर्लाबारी–१ मा रहेको रिभर फ्रन्ट रिर्सोटको सभाहलमा संचालन हुने छ ।
हाल १४२ हेक्टर क्षेत्रफलमा फैलिएको प्रगतिशील सामुदायिक वनले वन पैदावार बाहेक मत्स्य पालन, बेसार खेती, बाल उद्यान सञ्चालनजस्ता आम्दानीमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय