पथरी, २३ साउन । मोरङको पथरी शनिश्चरेस्थित रेडस्टार इङ्ग्लिस बोर्डिङ स्कुलका चन्दन साह र प्रविण कट्टेलले कक्षा–१२ (SLC) परीक्षा २०८२ मा ३.९६ जिपिए ल्याउँदै नेपालभरि प्रथम स्थान हासिल गरेका छन्। उनीहरूलाई विद्यालयले बिहीबार विशेष सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साह र कट्टेललाई नगद रु. ५०–५० हजारको चेक हस्तान्तरण गर्दै सम्मान गरियो। यस्तै, पथरी शनिश्चरेकै मनिषा पोखरेल र प्रमिश रिजालले सबै विषय समूहमा ३.९२ जिपिए ल्याएबापत सम्मान प्राप्त गरे।

कार्यक्रममा नगर प्रमुख तुम्वापोले उत्कृष्ट नतिजा हासिल गर्दै नगरको नाम उज्यालो पार्ने विद्यार्थी, अभिभावक र विद्यालय परिवारलाई बधाई दिए। “यो हाम्रो नगरको गौरव हो, यसलाई विद्यालयले निरन्तरता कायम गरोस्,” उनले शुभकामना व्यक्त गरे।

पत्रकार भेटघाट अन्तर्गत आयोजित कार्यक्रममा सम्मानित विद्यार्थीहरूले आफ्नो अनुभव र धन्यवाद मन्तव्य राखे। विद्यालयका प्राचार्य टि.एन. तिम्सिनाले स्वागत मन्तव्यसहित प्रेस विज्ञप्ति प्रस्तुत गरे।

यो वर्षको कक्षा–१२ परीक्षामा देशभरका ५ लाख १० हजार ९८७ परीक्षार्थीमध्ये रेडस्टारका साह र कट्टेल नेपाल प्रथम भएका हुन्। विद्यालयका २७० जना परीक्षार्थीमध्ये २६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भए। नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए हासिल गरे।

गत वर्षको एसईई परीक्षामा पनि विद्यालयका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए प्राप्त गरेका थिए। यसैगरी हालै प्रकाशित बीबीएस प्रथम वर्षको नतिजामा छात्रा कृतिका भट्टराईले ७६.८० प्रतिशत ल्याउँदै क्षेत्रमै अब्बल सावित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय