
उर्लाबारी, २६ भदौ । जेनजी आन्दोलनका कारण मुलुक संक्रमणकालीन अवस्थामा पुगेको छ। राज्यका संरचना अस्तव्यस्त हुँदा उर्लाबारीका दुई पेट्रोल पम्प सुरक्षाका कारण बन्द छन् ।
पेट्रोल पम्प बन्द भएपछि स्थानीय किराना पसलहरुले बोटलमा पेट्रोल बिक्री गर्दै मूल्य बढाएको सर्वसाधारणले गुनासो गरेका छन् । उर्लाबारीको मुख्य चौक, बरगाछी, स्कुलडाँडा, मगलबारे चौक र दुर्गापुरी बजारका पसलहरुमा बोटलमा पेट्रोल बिक्री भइरहेको छ ।
स्थानीयवासीका अनुसार आन्दोलन सुरु हुँदा बोटलमा प्रतिलिटर पेट्रोल रु १९० मा पाइन्थ्यो। तर अहिले पम्प बन्द भएपछि मूल्य बढेर रु २०० पुगेको छ । “देशैभरि संक्रमणकालीन अवस्था छ, पम्पहरु बन्द छन्, तर पसलमा पेट्रोल पाइन्छ । पुरानै मुल्यमा बेचे हुन्थ्यो, अझै मूल्य बढाएका छन्” तल्लो स्तरका जनताको भावना कसैले कहिलै नबुज्ने रैछ भन्दै उनिहरुले गुनासो पोखेका छन् ।”
यता व्यावसायीहरुले भने पेट्रोल टाढाबाट ल्याउनुपर्ने भएकाले मूल्य बढाएको तर्क गर्ने गरेको उनिहरु बताउछन् ।
उर्लाबारीका ओम सत्यशाही पेट्रोल पम्प र मालबासे पेट्रोल पम्पमा पेट्रोल–डिजेलको आपूर्ति भए पनि सुरक्षाको कारणले बिक्री रोकिएको पम्प सञ्चालकले बताएका छन् । हाल पेट्रोलको आधिकारिक मूल्य प्रतिलिटर रु १५९.२० र डिजेलको मूल्य रु १४३.२० कायम नै रहेको उनीहरुले जानकारी दिएका छन् ।



