उर्लाबारी, ५ असोज । जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको उर्लाबारी–५ वडा कार्यालयलाई प्रिन्टर र मोनिटर सहयोग गरिएको छ ।
हाल काठमाडौँमा बसोबास गर्दै आएका उर्लाबारी–५ निवासी आर्जेस तामाङले ३४ हजार रुपैयाँ बराबरको उपकरण सहयोग गरेका हुन् । स्थानिय युवा कबि हाङ फागोको पहलमा गरिएको उक्त सहयोग वडा कार्यालय पुनः सञ्चालनमा टेवा पुग्ने उद्देश्यले गरिएको हो ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा वडा कार्यालयभित्रका अत्यावश्यक सामग्री जलेर नष्ट भएका थिए । सेवाग्राहीलाई सहज सेवा दिन कठिनाइ भइरहेको बेला प्राप्त भएको सहयोगप्रति वडा अध्यक्ष रबिन लामाले आभार व्यक्त गर्दै यसलाई “समुदायले आफ्नो घर आफैं पुनः बनाउने मनोबलको उदाहरण” भन्दै प्रशंसा गरे ।
वडावासीले पनि यस किसिमको सहयोगले स्थानीय प्रशासन पुनः सशक्त बन्दै जाने र सेवाप्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।वडा कार्यालयको पुनर्निर्माण र कार्यालय पुनः स्थापना एक मिसाल बनेको छ । यस घटनाले नेपाली समाजमा सहयोग र एकताको महत्त्वलाई पुनः जागरुक गरेको छ । यदि यस्तो ऐक्यबद्धता र जिम्मेवारीका साथ काम जारी रह्यो भने, वडा कार्यालय मात्र नभएर नेपालका अन्य क्षतिग्रस्त स्थानहरू पुनः बनाइनेछन् र नयाँ जनादेशका साथ राष्ट्रको भविष्य उज्जवल हुनेछ । हामी सबै मिलेर राष्ट्रको निर्माणमा योगदान पुर्याउन सक्छौं।








