कुमार खड्का, उर्लाबारी, १७ जेठ । मोरङको उर्लाबारीमा पछिल्लो समय लागूऔषध कारोबारीविरुद्ध प्रहरीले सञ्चालन गरेको आक्रामक अभियानले सकारात्मक परिणाम दिन थालेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रहरी निरीक्षक नविन ओलीले नेतृत्व सम्हालेपछि फिल्ड इन्टेलिजेन्स, आकस्मिक चेकिङ, गोप्य सूचनाको परिचालन तथा लक्षित अपरेसनलाई तीव्र बनाइएको छ । सडक, चोक, होटल, डेरा तथा संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएपछि लागूऔषध कारोबारमा संलग्न समूहहरू दबाबमा परेका छन् भने कतिपय भूमिगत हुन बाध्य भएका छन् ।
यसै क्रममा जेठ १५ गते उर्लाबारी–७ को बरगाछी र स्कुलडाँडा क्षेत्रमा सञ्चालन गरिएका दुई छुट्टाछुट्टै अपरेसनमा प्रहरीले तीन जनालाई पक्राउ गर्दै ४१ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, नगद रकम, डिजिटल तराजु, मोबाइल फोन तथा मोटरसाइकल बरामद गरेको थियो । उक्त कारबाहीले लागूऔषध कारोबारीमाथि प्रहरीको दबाब बढाएको छ । तर प्रहरीको सफलतासँगै अर्को गम्भीर प्रश्न पनि उठिरहेको छ, नेपालका युवापुस्ता दिनप्रतिदिन किन लागूऔषध दुर्व्यसनको दलदलमा फसिरहेका छन् ?
यो प्रश्नको जवाफ खोज्दा धेरैले बेरोजगारी, सीमावर्ती क्षेत्रमा हुने तस्करी, परिवारको कमजोर निगरानी, गलत संगत र सामाजिक परिवर्तनलाई प्रमुख कारणका रूपमा औंल्याउने गरेका छन् । अक्सर हामी सीमामा खटिएका सुरक्षाकर्मीको निगरानीलाई दोष दिन्छौं, तर आफ्नै घरभित्र बढ्दै गएको समस्या र सन्तानमाथिको निगरानीको अभावलाई भने बेवास्ता गरिरहेका हुन्छौं । परिणामस्वरूप कतिपय किशोर तथा युवाहरू थाहै नपाई लागूऔषधको कुलतमा फस्दै गइरहेका छन् ।
विगत केही वर्षयता नेपालका विभिन्न शहर तथा बजार क्षेत्रमा ब्राउन सुगर, ट्याब्लेटजन्य लागूऔषध, गाँजा, चरेस तथा अन्य नशालु पदार्थको प्रयोग बढ्दो क्रममा देखिएको छ । विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवाहरू यसबाट बढी प्रभावित भइरहेका छन् । उर्लाबारी, पथरी, कानेपोखरी, दमक, इटहरी, विराटनगर, धरान र बिर्तामोड लगायतका पूर्वी नेपालका शहरी क्षेत्रमा लागूऔषध सम्बन्धी पक्राउका घटनाहरू बढ्नु पनि यही समस्याको संकेत मानिन्छ ।

लागूऔषधको समस्या अहिले केवल प्रहरीको कारबाहीले मात्र समाधान हुने विषय बनेको छैन । युवा पुस्तालाई यसको दलदलबाट बाहिर निकाल्न परिवार, विद्यालय, स्थानीय सरकार, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा समुदाय सबैको सक्रिय भूमिका आवश्यक देखिन्छ । विशेष गरी वडास्तरका जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायले समस्या लुकाउने भन्दा पनि समयमै पहिचान गरेर सम्बन्धित निकायसँग समन्वय गर्न सके लागूऔषध दुर्व्यसनको ग्राफ घटाउन सहयोग पुग्न सक्छ ।
नेपालमा शिक्षित बेरोजगार युवाको संख्या उल्लेखनीय छ । अध्ययन पूरा गरेपछि रोजगारी नपाउने, सीपअनुसार अवसर नपाउने, विदेश जान नसक्ने वा आर्थिक समस्यामा पर्ने अवस्थाले धेरै युवामा निराशा बढाएको छ । यही निराशा, तनाव र भविष्यप्रतिको अन्योलले कतिपय युवालाई गलत बाटोतर्फ धकेल्ने गरेको मनोविद्हरू बताउँछन् ।
स्टाटिस्टाले प्रकाशित गरेको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा १५–२४ वर्ष उमेर समूहका करिब पाँचमध्ये एक युवा बेरोजगार छन् भने विश्वविद्यालय तहको शिक्षा हासिल गरेका युवामा बेरोजगारी दर २४ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ। रोजगार अभाव, सीप–बजार असन्तुलन र अवसरको कमीका कारण शिक्षित युवाको ठूलो हिस्सा अझै रोजगारीको खोजीमा भौतारिन बाध्य भएको देखिन्छ।”
त्यसैगरी धेरै युवाले लागूऔषधको सुरुवात कुनै व्यवसायिक तस्करबाट होइन, आफ्नै साथीभाइको घेराबाट गर्ने गरेको पाइन्छ । “एक पटक मात्रै प्रयोग गर”, “केही हुँदैन” भन्ने दबाबले सुरु भएको प्रयोग बिस्तारै कुलतमा परिणत हुने गर्छ । गलत संगत, साथीभाइको प्रभाव र जिज्ञासाका कारण सुरु भएको प्रयोगले पछि जीवन नै बर्बाद बनाउने अवस्था सिर्जना गर्न सक्छ ।





वैदेशिक रोजगारीका कारण परिवार विखण्डन हुनु, अभिभावकको व्यस्तता, सन्तानसँगको कमजोर संवाद, निगरानीको अभाव तथा भावनात्मक दूरीले पनि किशोर तथा युवाहरूलाई गलत संगततर्फ आकर्षित गरिरहेको देखिन्छ । सामाजिक सञ्जाल, रात्रिकालीन पार्टी संस्कृति, नशालाई आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरिने प्रवृत्ति तथा मनोरञ्जनको गलत बुझाइले पनि युवामा लागूऔषधप्रतिको आकर्षण बढाइरहेको विज्ञहरू बताउछन् ।
यसबाहेक अवसाद, चिन्ता, प्रेम सम्बन्धमा असफलता, आत्मविश्वासको कमी, सामाजिक एक्लोपन तथा मानसिक स्वास्थ्य समस्याहरू पनि लागूऔषध प्रयोगतर्फ धकेल्ने महत्वपूर्ण कारणका रूपमा देखिएका छन् । मानसिक रूपमा कमजोर अवस्थामा रहेका युवाहरूले तनावबाट राहत खोज्ने क्रममा गलत विकल्प रोज्ने जोखिम बढी हुने गर्दछ ।
प्रहरीले लागूऔषध कारोबारी र ओसारपसारकर्तामाथि निरन्तर कारबाही गरिरहेको भए पनि आपूर्ति सञ्जाल भने पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । सीमावर्ती क्षेत्र, तस्करी मार्ग र स्थानीय वितरण नेटवर्कमार्फत लागूऔषध बजारसम्म पुगिरहेको अवस्था रहेको सुरक्षा निकायको बुझाइ छ । त्यसैले प्रयोगकर्तालाई पक्राउ गरेर मात्र समस्या समाधान नहुने, आपूर्ति गर्ने सञ्जाल, कारोबारी र माफियामाथि पनि निरन्तर निगरानी र कानुनी कारबाही आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
लागूऔषध दुर्व्यसनले एउटा व्यक्तिलाई मात्र होइन, परिवार, समुदाय र समग्र समाजलाई असर पार्ने गर्दछ । दुर्व्यसनका कारण पढाइ र करियर नष्ट हुने, स्वास्थ्यमा गम्भीर असर पर्ने, परिवार आर्थिक तथा मानसिक संकटमा पर्ने, चोरी, लुटपाट, हिंसा लगायतका अपराध बढ्ने तथा युवाको उत्पादनशील समय र क्षमता नष्ट हुने जोखिम रहन्छ । यसले समाजमा असुरक्षा, अविश्वास र सामाजिक विखण्डनको वातावरणसमेत सिर्जना गर्न सक्छ ।
यही कारणले पछिल्लो समय लागूऔषधलाई केवल कानुनी वा आपराधिक विषय मात्र नभई सामाजिक सुरक्षा, सार्वजनिक स्वास्थ्य र मानव विकाससँग जोडिएको समस्याका रूपमा हेर्न थालिएको छ । विशेषज्ञहरूका अनुसार लागूऔषध नियन्त्रणका लागि पक्राउ र कारबाही मात्र पर्याप्त हुँदैन । सबैभन्दा पहिले अभिभावकले आफ्ना सन्तानसँग खुला संवाद गर्नुपर्छ । उनीहरूको साथीभाइ, व्यवहार, गतिविधि र मानसिक अवस्थाबारे जानकारी राख्न आवश्यक छ ।
विद्यालय तथा कलेजहरूले नियमित रूपमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम, परामर्श सेवा तथा जीवनोपयोगी शिक्षा सञ्चालन गर्नुपर्छ । युवाहरूलाई खेलकुद, संगीत, साहित्य, उद्यमशीलता तथा सामाजिक गतिविधिमा सहभागी गराउन सके नकारात्मक बाटोमा जाने सम्भावना कम हुन सक्छ । स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सामुदायिक संघसंस्थाहरूले मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य सेवा तथा पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी बनाउनु पनि उत्तिकै आवश्यक देखिन्छ ।
लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी हो भन्ने बुझाई सवैले आ–आफ्नो दिमागबाट हटाउनु पर्छ । स्थानीय समुदाय, विद्यालय, अभिभावक, नागरिक समाज र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ । प्रयोगकर्ताको पुनःस्थापना आवश्यक भए पनि लागूऔषध आपूर्ति गर्ने माफिया, कारोबारी र सञ्जाल सञ्चालकमाथि भने निरन्तर कडा कानुनी कारबाही हुनुपर्छ ।
उर्लाबारीमा प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा सञ्चालन भइरहेको लागूऔषधविरुद्धको अभियानले सकारात्मक परिणाम दिन थालेको देखिन्छ । कारोबारीहरू पक्राउ परिरहेका छन्, सञ्जालहरू तिलमिलाई रहेका छन् र समाजमा सुरक्षा अनुभूति बढ्दै गएको छ । तर लागूऔषधको समस्या केवल प्रहरीको विषय मात्र होइन । यो युवापुस्ताको भविष्य, परिवारको स्थायित्व, समाजको सुरक्षा र राष्ट्रको मानव संसाधनसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा हो ।
त्यसैले एकातर्फ प्रहरीले अवैध कारोबारी र आपूर्ति सञ्जालमाथि कानुनी डण्डा चलाइरहनुपर्छ भने अर्कोतर्फ परिवार, विद्यालय, समुदाय र राज्यले युवालाई अवसर, मार्गदर्शन र सकारात्मक वातावरण प्रदान गर्नुपर्छ । अन्यथा आज पक्राउ परेका कारोबारीको ठाउँ भोलि अर्को समूहले लिन सक्छ । लागूऔषधविरुद्धको वास्तविक विजय तब मात्र सम्भव हुन्छ, जब युवाले नशा होइन, अवसर रोज्ने वातावरण समाजले निर्माण गर्न सक्छ ।




