कुमार खड्का ।
उर्लाबारी, ४ असार । कहिलेकाहीँ सफलता खेल जित्नेमा मात्र सीमित हुँदैन, खेललाई निष्पक्ष रूपमा सञ्चालन गर्ने जिम्मेवारीमा पनि असाधारण संघर्ष लुकेको हुन्छ ।
मोरङको उर्लाबारी–४ मा बसोबास गर्दै आएकी जमुना आले मगर त्यही संघर्ष, साहस र समर्पणको जिउँदो उदाहरण बनेकी छन् । परिवारको प्रारम्भिक असहमति, सीमित अवसर र सामाजिक चुनौतीहरू पार गर्दै उनी आज नेपालको राष्ट्रिय महिला लिगदेखि भारतसम्म रेफ्रीको भूमिका निर्वाह गर्ने सफल महिला रेफ्रीका रूपमा स्थापित भएकी छन् । मैदानमा सिठ्ठी फुक्ने उनको आत्मविश्वासले अहिले धेरै युवतीहरूलाई नयाँ सपना देख्न सिकाइरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित किर्तिपुरमा जन्मिएकी जमुना आले मगरको फुटबल यात्रा खेलाडीका रूपमा सुरु भएको थियो । वि.स २०७७ मा न्यु स्टार क्लबबाट अन्तर–विद्यालयस्तरीय कोकाकोला कपको क्वालिफायर चरणसम्म खेल्दै गर्दा उनले फुटबलमा आफ्नो भविष्य खोज्न थालेकी थिइन् । सोही समयमा धरानस्थित एन्फा एकेडेमीबाट रेफ्री कोर्ष गरेपछि भने उनको यात्राले नयाँ दिशा लियो ।
खेलाडीबाट रेफ्री बन्ने निर्णय उनका लागि सहज थिएन । सुरुवाती चरणमा घरपरिवारबाट समेत केही आनाकानी भएको थियो । तर उनले आफ्नो सपना त्यागिनन् । निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासकै बलमा उनी आज एन्फा रेफ्री सम्मको यात्रा तय गर्न सफल भएकी छन्।
जमुनाले नेपालको प्रतिष्ठित राष्ट्रिय महिला लिगमा ऐसिस्टेन रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् । यस्तै मोफसलका चर्चित इलाम महिला गोल्डकप, चन्द्रगढी महिला गोल्डकपलगायतका प्रतियोगिताहरूमा समेत उनले आफ्नो दक्षता प्रदर्शन गरेकी छन्।
उनको क्षमता नेपालभित्र मात्र सीमित छैन । भारतको सिक्किममा स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने ‘इन्डिपेन्डेन्स गोल्डकप’मा समेत रेफ्रीको जिम्मेवारी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय अनुभव हासिल गरिसकेकी छन् । नेपाली महिला रेफ्रीका रूपमा विदेशी भूमिमा खेल सञ्चालन गर्नु आफैंमा गौरवको विषय हो ।
मैदानमा उनी कडा, अनुशासित र निर्णयमा अडिग देखिन्छिन् । तर मैदानबाहिर भने उनी अत्यन्तै भावुक र सरल स्वभावकी छन् । खेलको नियम कार्यान्वयनमा कुनै सम्झौता नगर्ने उनको शैलीले खेलाडी र प्रशिक्षकबीच सम्मान कमाएको छ ।
अहिले उनी वर्षभरि व्यस्त रहने रेफ्रीका रूपमा परिचित छिन् । एक सिजनमा २५ भन्दा बढी खेलमा सहभागी हुने उनले महिला फुटबल प्रतियोगिताहरूमा निरन्तर योगदान दिँदै आएकी छन् ।
उर्लाबारी नगरपालिकाकी बासिन्दा भए पनि स्थानीय स्तरमा उनको योगदानले अझै अपेक्षित पहिचान पाउन सकेको छैन । तर फुटबल मैदानमा भने उनी धेरै महिला खेलाडी र युवतीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् । सिठ्ठी फुक्दै मैदानमा आत्मविश्वासका साथ दौडिरहेको उनको व्यक्तित्व देखेर धेरै युवतीहरूले ‘हामी पनि रेफ्री बन्न सक्छौं’ भन्ने आत्मविश्वास बटुल्ने गरेका छन् ।
उनको योगदानको कदर गर्दै पथरीशनिश्चरे नगरपालिका–४ ले उनलाई प्रेरणादायी महिला रेफ्रीका रूपमा सम्मानसमेत गरिसकेको छ । हाल उनको कमाण्डमा मोरङको उर्लाबारीमा जारी प्रथम उर्लाबारी उप–मेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । सुन्दरहरैँचाकी लक्ष्मी योगी, कानेपोखरीकी ईमा राई तथा उर्लाबारीका मनोज तामाङसहितको रेफ्री टोलीलाई उनले नेतृत्व गरिरहेकी छन् ।
कुनै समय फुटबल खेल्ने साधारण छात्रा रहेकी जमुना आले मगर आज हजारौँ युवतीका लागि सम्भावनाको प्रतीक बनेकी छन् । खेलाडीबाट रेफ्री हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय मैदानसम्मको उनको यात्रा केवल व्यक्तिगत सफलता मात्रै होइन, नेपाली महिलाको आत्मविश्वास, संघर्ष र सफलताको प्रेरणादायी कथा पनि हो । आज जब उनी मैदानमा सिठ्ठी फुक्छिन्, त्यो आवाज केवल खेल सञ्चालनको संकेत मात्र होइन—आफ्नो पहिचान बनाउन चाहने प्रत्येक युवतीका लागि हौसलाको सन्देश पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय