
उर्लाबारी । नेपाली काँग्रेस उर्लाबारी नगर समितिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । आज उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित उर्लाबारीका २० जना जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, विशिष्ट अतिथि काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागो र नगर सभापति सुरेन्द्र लिम्बूले जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राई, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान रहेका छन् । यस्तै, वडा सदस्यतर्फ वडा नं. २ का नरबहादुर धिमाल, वडा नं. ५ का सुरेश आचार्य, विनोद धिमाल, देवीकला राई, रामकुमारी विक, वडा नं. ६ का दुर्गावति लिम्बू, पवित्रा विश्वकर्मा, बमबहादुर श्रेष्ठ, मानबहादुर धिमाल, वडा नं. ७ का सुमन कार्की, सन्तोष निरौला, मन्जु परियार, वडा नं. ९ का प्रकाश कन्दङ्वा, गणेश किम्दाङ, विमला लिम्बू र सावित्रा विश्वकर्मा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेसको सत्रु अरु कुनै नभई काँग्रेस नै भएकोले स्थानीय तहमा मोरङमा हार व्यहोर्नु परेको बताए । उनले पार्टीभित्रको विखण्डनले हार भएको बताए । साथै, निर्वाचित जनप्रतिनिधिलाई इमान्दारितापूर्वक जनताको काम गर्न निर्देशन समेत दिए ।
विशिष्ट अतिथि काँग्रेस प्रदेश १ का सहमहामन्त्री तथा स्थानीय निर्वाचनमा उर्लाबारी नगरपालिकामा मेयर पदका उम्मेद्वार खड्ग फागोले स्थानीय निर्वाचनमा काँग्रेस भनेर पद ओगट्नेले नै आफूलाई भोट नदिएको बताए । ‘ग्रास लेवलका जनता र सच्चा काँग्रेसले भोट दिए’ फागोले भने, ‘काँग्रेस भनेर पद मात्र ओगट्नेले भोट दिएनन् ।’ निर्वाचनमा अन्तरघात गर्नेहरुको प्रमाणसहितको लिष्ट आफूसँग रहेको उनले दाबी गरे । अब काँग्रेसमा शुद्धिकरण हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा काँग्रेस प्रदेश १ का सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधि सीता कार्की, जिल्ला सदस्य वीरबल थापा, मोरङ प्रदेश १ (क) का सभापति नरबहादुर मोक्तान, क्षेत्रीय सहसचिव अरुणा थापा, वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईलगायतले मन्तव्य राखेका थिए । नगर सभापति सुरेन्द्र लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजन रायमाझीले गरेका थिए ।



