उर्लाबारी, २२ पुष । उर्लाबारी जेसीजको २६ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित कार्यक्रममा उर्लाबारी जेसीज २०२३ का अध्यक्ष सिताराम ओझाले २०२४ का अध्यक्ष नवीन श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् । साथै, नवनिर्वाचित पदाधिकारीलाई सपथ समेत गराइएको थियो ।

अध्यक्ष श्रेष्ठले सन् २०२४ का लागि महासचिवमा रन्जित श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मण दाहाल र कानुनी सल्लाहकारमा दिपक न्यौपानेलाई मनोनित गरेका छन् । नयाँ समितिको कार्यकारी उपाध्यक्षमा रोशन घिमिरे र निशान भट्टराई, उपाध्यक्षहरुमा दिनेश निरौला, रोजेश पौडेल, रोशन श्रेष्ठ र चेतराज श्रेष्ठ तथा जनसम्पर्क अधिकारीमा कुमारी चम्लागाई ओझा यसअघि नै सर्वसम्म्त चयन भएका थिए ।

सोही अवसरमा उर्लाबारीको नाम देशविदेशमा परिचित गराउने बडिविल्डर ललित धिमाललाई सम्मान गरिएको थियो भने उर्लाबारी जेसीजले वर्षभरि गरेका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग गरेको भन्दै सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष तथा नेपाली पोर्टल डटकमका प्रधान सम्पादक नवराज भट्टराईलाई सम्मान गरिएको थियो ।

सो अवसरमा एम टट हासिल गर्ने उर्लाबारी जेसीजका पूर्वअध्यक्ष पवन अग्रवाललाई पनि सम्मान गरिएको थियो । यस्तै वर्षभरि उत्कृष्ट कार्यक्रम संयोजक भूपाल काफ्ले, उत्कृष्ट बोर्ड सदस्य लक्ष्मण दाहाल, उत्कृष्ट नयाँ सदस्य दिनेश निरौलालाई समेत पुरस्कृत गरिएको थियो ।

कोशी प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख विशिष्ट अतिथि रहेका थिए ।

सो अवसरमा जेसीजका केन्द्र, विभिन्न शाखाका पदाधिकारी, उर्लाबारीका वडाध्यक्षहरु, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

उर्लाबारी जेसीज २०२३ का अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सनम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय