ुउर्लाबारी-६ स्थित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औँ साधारण सभा सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी स्थित सगरमाथा साकोसको सभाहलमा आयोजित साधारणसभाका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा प्रसाद खरेलले आफ्नो मन्तव्य राख्ने क्रममा खानेपानीसँगै सरसफाई समेत आवश्यक रहेको बताउदै उनले उर्लाबारीका ३सय ८० विपन्न वर्गको परिवारमा नि:शुल्क धारा जडान गरिने बताए ।
यस्तै उनले सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान पूर्ण रुपमा निषेध गरी जरिवाना लगाईने बताए । नगरभित्रका ५ वटा बजारलाई व्यवस्थित बनाई नगरपालिकाले सुरु गरेको वजार अनुगमनलाई तिब्र पारिने मेयर खरेलले बताए । उनले नगरको गौरवको योजनामा रहेको बक्राह विष्णु गंगा घाटलाई आगामी १० वर्षभित्र धामको रुपमा स्थापित गराईने बताए । यसका साथै मेयर खरेलले विपन्न आवास योजनाअन्तर्गत अपाङ्गता भएका विपन्न परिवारलाई प्राथमिकतामा राखी १८ घर निर्माण गरिने बताउदै नगरपालिकाले हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरीने योजना बनाएको जानकारी दिए ।
साधारणसभामा संस्थाका सचिव मेघराज श्रीपालीले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष तेजकुमारी खतिवडाले आर्थिक प्रतिवेदन, लेखा समितीका संयोजक ढकबहादुर थापाले लेखा समितिको प्रतिवेदन र कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ७५ लाख ८१ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको उक्त खानेपानीको शुद्ध बचत १ करोड ८४ लाख १३ हजार ७ सय ८० रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरीएको छ ।
यस्तै उक्त अवसरमा कुशल व्यवस्थापकको भुमिका निभाउँदै आएका कार्यालय प्रमुख राजु बुढाथोकी ,उत्कृष्ट कार्यक्षमताका आधारमा पम्प अपरेटर दिलबहादुर मगर र खानेपानीको बारेमा जनचतेतनामूलक जानकारी गराउने अलकापूरी साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।
जम्मा ३ सय ५ जना सभासदहरु रहेको उक्त खानेपानीमा सभासदहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर ७ का कुमार तामाङ्ले गुनासो सहितको स्वागत मन्तव्य राखेका थिए ।
उनले खानेपानीले कमाएको करोडौँ मुनाफा उपभोक्तालाई वितरण गरिनुपर्ने, सार्वजनिक ठाउमा खानेपानी नि:शुल्क जडान नगरिएको, विपन्नहरुलाई नि:शुल्क धारा जडान नगरिएको लगायतका गुनासा राखेका थिए ।
कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरवहादुर मोक्तान, राप्रपा उर्लाबारी नगर अध्यक्ष निरुपा निरौलालगायतले स्वागत मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य रामकुमार राईले राखेका थिए ।
उर्लाबारी नगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो सभामा नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, नेपाली कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बु , नेकपा माओवादी नगर अध्यक्ष गजेन्द्र दंगाल, वडाध्यक्ष नरबहादुर मोत्तान र उर्मीला थापा, नेपाल रेडक्रस उर्लाबारी उप शाखाका सभापति भानु पराजुली , खानेपानी संस्थाका सल्लाहकार भुपाल जिमीलगायतको आतिथ्यता रहेको थियो ।
७ हजार २ सय ८४ वटा धारा जडान गर्न सफल उक्त खानेपानी संस्थाको २१ औँ साधारण सभा कार्यक्रमको संचालन संस्थाका सचिव मेघराज श्रीपालीले गरेका थिए ।