दिलीप पोखरेल /उर्लाबारी
उर्लाबारी वडा नम्बर २ डुम्रेस्थित सडकमा स्थानियले बोर्ड टाँगेर सांकेतिक विरोध गरेका छन् । बिहिबार विहान मंगलबारे-डुम्रे- धानखेती-मिक्लाजुङ पर्यटन मार्गमा “ड्रेन सहितको कालोपत्रे सडक कहिले बन्छ ?” भन्ने बोर्ड टाँगेर स्थानियले सांकेतिक विरोध गरेका हुन् ।

सो बोर्डमा उनीहरुले संघिय सांसद डिगबहादुर लिम्बु, प्रदेश सांसद उमाकान्त गौतम, शोभा चेम्जोङ र विद्या चाम्लिङ, उर्लाबारी नगरपालिका र उर्लाबारी वडा नम्बर २ लाई बोधार्थसहित तत्काल बाटो निर्माण गर्न ध्यानाकर्षण समेत गराएको स्थानिय युवा रोहित आचार्य बताउछन् । उनी भन्छन्, ” उहाँहरु चुनावी मुखमा भोट माग्दै घरघर आउने क्रममा दिनुभएको घोषणापत्र सुरक्षित छ , ड्रेन सहितको बाटो बनाउने भनेर दिईएको आश्वासन पुरा भएकै छैन । त्यसैले कतै उहाँहरुले नै भुल्नुभयो कि भनेर हामीले नै ध्यानाकर्षण गराएका हौँ ।”

यस्तै अर्का युवा खेम गौतमकाअनुसार जनप्रतिनिधीहरुले सधै आश्वासन मात्रै देखाएर काम नगरेको बताउदै बाध्य भएर बोर्ड टाँग्नुपरेको बताए । उनी भन्छन्,”अब बजेट बनाउने बेला भएको छ , सम्बन्धित सबै जनप्रतिनिधीहरुले यो बाटोमा बजेट विनियोजन गर्न हामीले सांकेतिक ध्यानाकर्षण गराएका हौँ ।”

सो सांकेतिक विरोध कार्यक्रममा स्थानिय युवा आचार्य र गौतमसहित सन्तोष लिम्बु, दिपक आचार्य, कृष्ण दाहाल, कमला थपलिया, बिना बस्नेतलगायले उक्त बोर्ड टाँगेर ध्यानाकर्षण गराएका थिए ।

यता उक्त सडकखण्डमा युवाहरुले सांकेतिक विरोध गरेको जानकारी पाएपछि कोशी प्रदेश सभाका पुर्व सांसद कुल प्रसाद साम्बा(कुशल) ले मंगलबारे पेजसँगको कुराकानीमा सो सडकखण्डले गति लिन नसकेकोमा दु:ख व्यक्त गर्दै आगामी बजेटमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखि बजेट विनियोजन गर्न आग्रह गरे । उनले भने,” हाम्रो पालोमा करिब १ करोड रकम विनियोजन भई सो सडकखण्डको पुर्वाधार तयार गरी ग्रावेलिङ गर्ने काम सम्पन्न भएको थियो, तर अहिले उक्त सडकले गति लिनै सकेनछ ।” यस्तै उनले स्थानियको जायज मागप्रति समर्थन जनाएको बताउदै आगामी बजेटमा उक्त सडकखण्डमा वजेट विनियोजन गर्न आफुले समेत पहल गर्ने बताए ।

यता उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले अहिलेको अवस्थामा युवाहरुले बोर्ड नै राखेर विरोधको कार्यक्रम गरिहाल्न आवश्यक नभएको धारणा व्यक्त गरे । उनका अनुसार केन्द्र सरकारले राजश्व बाँडफाँडको रकम २५% कटौती गरेको र कोशी प्रदेश सरकारबाट समेत प्रयाप्त बजेट नआएकोले सो सडकखण्डमा बजेट विनियोजन गर्न नसकिएको बताए । उनले भने,” २ नम्बर वडामा आर एन एन सरकारबाट २७ करोडको तेली खोला संरक्षण योजना स्विकृत भई काम सुचारू भईरहेको छ भने विश्व बैङ्कको ४२ करोडको कृष्ण चोक-सुनझोडा अत्याधुनिक कालोपत्र सडक निर्माण योजनाअन्तर्गत द्रुत गतीमा काम भैरहेको छ । बजेट अभावको कारण एकै पटक एउटै वडामा हामीले बजेट हाल्न नसकेको अवस्था हो यद्यपी हामी आगामी बजेटमा यसलाई सम्बोधन गर्नेछौँ । यसअघि नै हामीले सो सडक निर्माण योजना माग गरेर संघिय सरकार र सम्बन्धित मन्त्रालयमा पेश गरिरसेका छौँ ।”

यस्तै मेयर खरेलले कोशी प्रदेश सरकारमा अस्थिरता आएपछि अपेक्षाअनुरुप बजेट प्राप्त हुन नसकेको बताए । उनले प्रदेश सरकारक‍ो बजेटमा निर्माण हुदै गरेको किसान चोक -टाँडी -रमिते सडक योजनामा चरम लापरवाही भेटिएको बताउदै ठेकदार पक्षलाई कारवाही प्रकृया अगाडी बढाईएको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय