उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबारबाट सुरु भएको ‘तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता’ को दोस्रो खेलमा धरान भेट्रान्स फुटबल क्लब विजयी बनेको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा आयोगित प्रतियोगितामा बिराट भेट्रान्स क्लव सुन्दरहरैलाई १–० गोल अन्तरले पाखा लगाउदै धरान दोस्रो चरण प्रवेश गरेको छ ।
निर्धारित ६० मिनेटको खेलमा धरानका लागि खेल सुरु भएको ३ मिनेटमा सतिष केसीले गरेको गोल निर्णायक बन्दा धरानले दोस्रो चरणको यात्रा तय गर्यो।
सतिषले खेल सुरु भएको ३ मिनेटमा गोलपोष्ट नजिकबाट प्रहार गरेको बल क्रस बारमा ठोक्किएर रिवाउण्ड भएको थियो । रिवाउण्ड भएको बललाई नियन्त्रणमा लिदै पुनः सतिषले गोलपोष्टमा प्रहार गर्दा बलेले जाली चुम्न पुग्यो । सतिषको गोल नै धरानको जितका लागि निर्णायक गोल बन्यो ।
मध्यान्तर पश्चात खेलमा कमव्यक गरेको बिराट भेट्रान्सले उत्कृष्ठ मौकाहरु पाएपनि बललाई गोलपोष्टको सहि दिशा दिन नसक्दा खेलमा हार ब्यहोर्दै घर फर्कियो ।
खेलको म्यान अफ दि म्याच धरानका केन्द्र राई घोषित भए उनले नगद १ हजार १ सय रुपैया र ट्रफि प्राप्त गरे ।





कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भोलिको खेल भरौल भेट्रान र कन्काई भेट्रान्सका विच पहिलो खेल हुनेछ भने दोस्रो खेल मिल्स भेट्रान्स विराटनगर र दमक लखनपुर भेट्रान्सका विच हुने आयोजकले जनाएको छ ।




