उर्लाबारी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा समाजसेवी महावीर पुन जेठ २१ गते उर्लाबारी आएका थिए ।
आफ्नो पुस्तक बिक्री अभियानअन्तर्गत पुन उर्लाबारी पुग्दा स्थानीयबासीले उनको अभियानमा उल्लेखनीय साथ दिएका थिए । उर्लाबारीवासीले २ हजार ३ सय १० थान पुस्तक खरीद गरी करिब १७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए ।
मंगलबार साँझ उर्लाबारी चोकमा आयोजित बिदाई कार्यक्रमका क्रममा उक्त पुस्तक बिक्रीको विवरण सार्वजनिक गरियो । कार्यक्रममा पुनप्रति सम्मान प्रकट गर्दै उनको अभियानप्रति ऐक्यबद्धता व्यक्त गरिएको थियो ।
तर, पुनले सामाजिक सञ्जालमार्फत उर्लाबारी भ्रमणको सन्दर्भमा केही असन्तुष्टि पोखेका छन् । उनले उर्लाबारीजस्तो ठुलो सहरमा एउटा पनि क्याम्पस नभेटिएको भन्दै टिप्पणी गरे । पुनले क्याम्पस नै छैन भनेर उर्लाबारीको मजाक उडाउन खोजे पनि पुनको पुस्तक खरिदका लागि उर्लाबारी बहुमुखी क्याम्पसमा पुनलाई उपस्थित गराएर विद्यार्थीहरुले पुस्तक खरिद गरेतापनि पुनले सामाजिक संजालमा भुटो प्रचार गर्दै उर्लाबारी बासीले दिएको साथ र समर्थनको खिल्ली उठाएका छन् ।
पुनको किताव खरिदका लागि उर्लाबारी बहुमुखी क्याम्पसका स्ववियु सभापति पोषनजंग आर्चायले निमन्त्रणा नै गरी क्याप्समा लगि पुस्तक विक्रीमा सहयोग गरेको भएतापनि पुनले क्याम्पस लक्षित घृणित प्रतिक्रिया सामाजिक संजालमा पोष्ट गरेपछि पुनले हेपाह दृष्टिकोण देखाएको भन्दै उनको यस्तो भनाइप्रति स्थानीयले गहिरो आपत्ति जनाएका छन् ।
१७ लाख रुपैयाँबराबरको पुस्तक किनेर अभियानमा साथ दिँदा पनि यस्ता तीतो टिप्पणी गर्नु उचित नभएको उनीहरू बताउँछन् । “हामीले मनदेखि साथ दियौँ, उनले मूल्यांकन गर्नुको सट्टा हेपाहा दृष्टिकोण देखाए,” एक स्थानीय युवा भन्छन् । कतिपयले त उनलाई ‘बैज्ञानिक होइन, घमण्डी बुद्धिजीवी’ भन्दै आलोचना समेत गरेका छन् ।
यद्यपि, पुनको भनाइको अर्को पाटो पनि छ । उनले शिक्षा र आविष्कारमैत्री वातावरणको आवश्यकता औंल्याउँदै स्थानीय तहमा प्रविधि तथा अनुसन्धानमैत्री शैक्षिक संस्थाहरूको खाँचो रहेको इङ्गित गरेका हुन् । तर उनले प्रयोग गरेका अभिव्यक्तिलाई धेरैले नरम रूपमा बुझ्न सकेनन् ।
यो घटनाले सामाजिक अभियन्ता र जनसाधारणबीचको अपेक्षाको अन्तरलाई प्रस्ट पारेको छ । सहकार्य र समर्पणको मूल्याङ्कन गर्नुजति नै आवश्यक हुन्छ, विचार र अभिव्यक्तिको संवेदनशीलता पनि महत्त्वपूर्ण हुने देखिन्छ ।








