उर्लाबारी, १ साउन । उर्लाबारी नगरपालिकाको गौरवको आयोजना मानिएको कृष्णचोक–सुनझोडा सडक हाल नाम परिवर्तनको प्रस्तावका कारण विवादमा परेको छ ।
नगरपालिकाले उक्त सडकको नाम ‘जनपक्षीय मार्ग’ राख्ने तयारी गरेपछि स्थानीयहरू र जनप्रतिनिधिहरूबीच असहमति चुलिएको हो ।
सडकको नाया नाम नामाकरणका विषयलाई लिएर उर्लाबारी नगरपालिकाका प्रवक्ता एवम वडा नम्वर–३ का वडाअध्यक्ष भिष्मराज बुढाथोकीले सालबारी–सुनझोडा मार्ग नाम जनमानसमा स्थापित भइसकेको नाम भएकाले त्यसलाई हटाएर नयाँ नाम जथाभावी राख्न नमिल्ने तर्क राख्दै नगरकार्यपालिकाले यो विषयमा स्थानीयको आवाजलाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।


उक्त आयोजनाको कुल बजेट ५२ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर ठेक्का प्रक्रियाबाट करिब ३७ करोड रुपैयाँमा निर्माण सम्पन्न गरिएको छ । बाँकी रहेको रकम अन्य वडामा लैजाने नगरपालिकाको अर्को योजनाप्रति पनि वडा नम्बर २ का वडाअध्यक्ष कुमार कडेल र त्यहाँका बासिन्दाले असन्तुष्टी जनाएका छन् ।
वडा अध्यक्ष कडेलले बाकी रहेको बजेट अन्यत्र लैजाने तयारीमा नगरपालिका लागि परेको भन्दै सोही सडकको अधुरो खण्डमा उक्त बजेट लगानी गरिनुपर्ने माग सहित नगरकार्यपालिकाले स्थानियको मागलाई सुन्नैपर्ने बताउनु भएको छ ।
विश्व बैंकको लगानीमा निर्माण भएको यो दुई लेन सडकमा सडकबत्ती, साइकल लेन, र सौन्दर्यीकरणसमेत गरिएको छ । तर नामाकरण र बाँकी बजेटको व्यवस्थापनमा देखिएको विवादले आयोजनामा जनस्तरीय विवाद थपिएको छ ।


नामाकरण र बाँकी बजेटको उपयोगलाई लिएर सुरु भएको विवाद नगर कार्यपालिकाको निर्णयपछि मात्रै टुंगो लाग्ने देखिन्छ । यसबीच, आज (विहिबार) स्थानियबासीको सहभागितामा जनप्रतिनिधी सहितको समुह नगरपालिका प्रमुख गंगाप्रसाद खरेललाई आफ्‌नो माग सहितको ध्यानाकर्षण पत्र बुझाउन नगरपालिका जाने तयारी भएको छ । उनिहरुको ध्यानाकर्षण पत्र पश्चात अब नगर कार्यपालिकाको निर्णयले यो विषयको अन्तिम निष्कर्ष दिनेछ कि जनदबाबले फरक मोड लिनेछ हेर्न भने बाँकी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय