दिलीप पोखरेल / उर्लाबारी
फाल्गुनन्द जयन्तीको अवसरमा उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक मंगलबारे क्रस कन्ट्री रन २०८२ हुने भएको छ। क्रस कन्ट्री क्लब, उर्लाबारी–३ को आयोजनामा हुने सो प्रतियोगिता यहि कार्तिक २९ गते शनिबार आयोजना हुनेछ ।
कार्यक्रम संयोजक हेमन्त लावतीकाअनुसार प्रतियोगितामा भारतको मिरिक र सिलगुडीसहित नेपालको भोजपुर, उदयपुर, खोटाङ, चितवन, गुल्मी लगायतका जिल्लाबाट धावक–धाविकाहरुको सहभागिता रहनेछ।




प्रतियोगिताका लागि जम्मा ३ सय ५० जना धावकलाई मात्र फारम भर्न अनुमति दिइने कार्यक्रम संयोजक लावतीले बताए ।
यस्तै फारमभन्दा बढी हुने धावकले दौडमा सहभागि भई पुरस्कृत हुन सक्ने भएतापनि अन्य सुविधा भने नपाउने क्लबका अध्यक्ष प्रभु दिलुङ्छा राईले जानकारी दिए।
मंगलबारे चोकबाट सुरु हुने उक्त दौड केरखाली चोक – सिरुझार स्कुल – सुनझोडा माध्यमिक विद्यालय – शान्ति आधारभूत विद्यालय – प्रस्तावित सालबारी रंगशाला हुँदै महेन्द्र राजमार्गमार्गबाट पुनः मंगलबारे चोकसम्म पुग्नेछ। सो दौडको कुल दुरी ११ किलोमिटरको रहने अध्यक्ष राईले बताए ।
प्रतियोगितामा खुला र भेट्रानतर्फ प्रवेश शुल्क ४ सय र यू–१५ तर्फ ३ सय ५० तोकिएको छ।
सहभागी खेलाडीका लागि टी–सर्ट, खाजा, जुसपानीको व्यवस्था गरिएको छ भने टाढाबाट आउने धावकका लागि खाद्यान्न र आवासको व्यवस्था समेत रहनेछ। नाम दर्ता गरेका खेलाडीलाई कार्तिक २५ गतेदेखि टी–सर्ट वितरण गरिने आयोजकले जनाएको छ ।
त्यस्तैगरी, विभिन्न उमेर समूहअनुसार फरक–फरक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खुला समूह (महिला/पुरुष)तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार ५ सय र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन्।
यस्तै यू–१५ समूहमा (महिला/पुरुष) प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ। भेट्रान समूहका लागि समेत यू–१५ सरहकै पुरस्कार तय गरिएको आयोजकले जनाएको छ । साथै विजेता खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित गरिने बताईएको छ ।
क्लवका अध्यक्ष राईका अनुसार रन आयोजना गर्नुको मूख्य उद्देश्य उर्लाबारीका धावक–धाविकाका लागि फण्ड राइजिङसहित खेलकुदप्रति उत्प्रेरणा जगाउने हो। उनले यसअघि पनि आफ्नै संयोजनमा उर्लाबारी रनर ग्रुपमार्फत भारतसहित देशका विभिन्न रन प्रतियोगितामा उर्लाबारीको प्रतिनिधित्व गराउँदै आएका छन् ।
सो कार्यक्रमका होटल पार्टन प्रार्थना रिट्रिट, स्पोर्ट लज एण्ड बार रहेको छ भने इन्टरनेट पार्टनर भाय नेट, उर्लाबारी रहेको छ । थप प्रायोजक तथा पार्टनरहरु समेत कार्यक्रमसँग जोडिने क्रममा रहेको आयोजकले जनाएको छ।
आयोजकले कार्यक्रमसम्बन्धी थप जानकारी केहि दिनपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।




